| शुक्रबार, माघ ४, २०८१

बारपाक सुलिकोटमा व्यवसायिक कफी खेती सुरु

बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती सुरु गरिएको छ । पालिकाभित्रका विभिन्न वडाहरुमा कृषक समूह बनाई कफी खेती सुरु गरिएको हो । व्यवसायिक कफी खेतीका लागि गत जेठ ६ गते चार पक्ष बीच सम्झौता भएको थियो । जसमा प्रथम पक्ष फ्रेस्को हिमालय प्राइभेट लिमिटेड, दोस्रो पक्ष कृषक समूह, तेस्रो पक्ष गाउँपालिका र चौथो पक्ष एकीकरण नेपाल बीच कफी खेतीका विविध विषयमा दस वर्षको लागि सम्झौता भएको हो ।

उत्पादित कफी फ्रेस्को हिमालयले तोकिएको मूल्यमा खरिद गरी पैसा १५ दिनभित्रमा कृषकको खातामा हाल्नु पर्ने सम्झौता भएको छ । समयमा उत्पादित कफी खरिद नभएको खण्डमा त्यस बापतको रकम भुक्तानी गर्नु पर्ने गरी सम्झौता भएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । कृषक समूहले उत्पादन गरेको कफी सुकाएर मात्रै बिक्री गर्ने पर्ने उनले बताए । खरिद गरेको कफी प्याकिङ गरी बजारिकरण गर्दा गाउँपालिका र एकिकरण नेपालको साझेदारी हुनुपर्ने उनको भनाइ छ ।

कफी सेपिलो ठाउँमा हुने खेती हो । त्यसैले गाउँपालिकाले कफी खेतीलाई उत्पादनमूलक तथा दिगो बनाउन छहारी हुने सदाबहार घाँसका विरुवा उपलब्ध गराएको छ । गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई आर्थिक अनुदान पनि दिइने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । कफी खेतीको लागि आवश्यक पर्ने सिंचाई आयोजनामा सहयोग गरी मल खरिद प्रक्रियामा अनुदान दिने उनले जानकारी दिए । खरिद गर्ने कम्पनी र कृषक बीच केही विवाद उत्पन्न भए गाउँपालिकाले सहजिकरणको भूमिका खेल्ने अध्यक्ष भट्टले बताए ।

नर्सरी बनाएर व्यवसायिक कफी खेती सुरु गरेका वडा नं. ५ भुर्सेका टंकबहादुर गुरुङले कफीमा लाग्ने रोगहरुबारे आफु अन्जान भएकाले सचेतना कार्यक्रमको खाँचो औल्याए । ‘लगाएको जति सबै कफीको बोटहरु सबै सरेका छन् । तर रोग लाग्न सुरु गरेको छ’, उनले भने, ‘पात डढेको छ, किरा पनि लाग्ने रहेछ । हामीलाई त यसको उपचार विधि भने केही पनि थाहा छैन ।’
यस्ता रोगको उपचार विधिबारे जान्न र समाधान गर्ने सम्बन्धी तालिमको माग उनले गरेका छन् ।

यता वडा नं. ३ स्वाँराकी चन्द्रमाया तामाङले पनि आफ्नो बारीभरि कफीका बोट लगाएका छन् । उनले लगाएको कफी अरु किसानहरुको भन्दा केही राम्रो गरी हुर्किएको छ । आफ्नै पुरै समय कफीको स्याहारमा लगाउने गरेको उनले बताइन् ।
‘नानी स्याहारेको भन्दा नि बढी गर्नुपर्छ, नभ्याएर एक दुई दिन हेर्न आएन भने पनि कस्तो भइसक्छ,’ उनी भन्छिन्, ‘मेरो त काम नै यसको पातहरु धुनी, जार उखेल्नी, तल तल भुइमा लत्रिएको हाँगाहरु काट्नी हुन्छ ।’ तामाङले पोहोर साल लगाएको कफीको बोटमा आगामी वर्षदेखि फल लाग्ने बताएकी छिन् । ‘पोहोर लगाएको बोटहरुमा त झ्याङ्गिन थालेको छ, अर्को वर्षदेखि त फल्छ पनि होला’ उनले भनिन् ।

निकै उत्साहका साथ किसानहरुले व्यवसायिक कफी खेती सुरु गरेका छन् । व्यवसायिक कफी खेतीका लागि बारपाक सुलीकोट गाउँपालिकाका नौ वटा विभिन्न कृषक समूहका २१६ जना किसानहरु प्रतिवद्ध रहेको बताइएको छ । एकिकरण नेपालले यस वर्ष गाउँपालिकालाई पाँच हजार कफीको विरुवा सहयोग गरेको कार्यकारी निर्देशक हरी देवकोटाले बताए । कफीका बोट काँटछाँट गर्न प्रविधिक तालिम पनि दिइने तयारी रहेको कार्यकारी निर्देशक देवकोटाले बताए । अघिल्लो वर्षमा एकिकरण नेपालले १२ हजार कफीका बोट कृषक समूहमा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्