| शुक्रबार, माघ ४, २०८१

गोनपा–५ : विरासत गुमाउँदै कांग्रेस, माओवादीको छलाङ

बिकास मरहट्टा ।

गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्र बिजयी बन्यो । पछ्याउँदै गरेको कांग्रेस ८४ मत अन्तरले पछि प¥यो । यसअघि वडाध्यक्ष जितेको एमाले तेस्रो बन्न पुग्यो । विगतका दुवै स्थानीय तह निर्वाचनको नतिजामा त्यहाँ कांग्रेसको राम्रै बाहुल्यता देखाउँछ । २०७४ को स्थानीय तह निर्वाचनमा वडाको सिंगो टिममा कांग्रेस थियो । वडाध्यक्षसहित चार सदस्यमा कांग्रेसकै उम्मेदवार बिजयी बनेका थिए ।

वडाध्यक्षमा बिजयी बनेका कांग्रेसका रामकुमार थापा मगरले ४४१ मत ल्याएका थिए । ३४३ मत ल्याएर नेकपा एमालेकी नानुमाया थापा मगर दोस्रो बनेकी थिइन् । माओवादी केन्द्रकी सावित्री थापा राना १४१ मत ल्याएर तेस्रो स्थानमा थिइन् ।
२०७९ सालको निर्वाचनमा २५ मतको झिनो अन्तरले कांग्रेस वडाध्यक्षमा पराजित बन्न पुग्यो । ४५३ मत ल्याएर एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बने भने कांग्रेसकी गिता थापा मगर ४२८ मत ल्याएर दोस्रो बनिन् । २७४ मत ल्याएर माओवादी केन्द्रकी सावित्री थापा राना तेस्रो बनिन् ।

चार वटै वडा सदस्य भने कांग्रेसले बाजी मारेको थियो । कांग्रेसको आधार क्षेत्र मानिएको उक्त वडामा पछिल्लो दुई निर्वाचनको परिणाम मूल्यांकन गर्दा कांग्रेस कमजोर बन्दै गएको देखिन्छ । आइतवार भएको वडाध्यक्ष उपनिर्वाचनको मतपरिणामले समेत यसको पुष्टि गर्छ । यसअघि सम्पन्न दुवै स्थानीय तहको चुनावमा तेस्रो स्थानबाट माथि उक्लन नसकेको माओवादी छलाङ मार्दै अहिले वडामा बिजयी बन्न पुग्यो, त्यो पनि भारी मतान्तरले । कांग्रेसको आधार क्षेत्र मानिएको उक्त वडामै कांग्रेस पराजित बन्न पुग्यो ।

पछिल्लो समय गोरखामा कांग्रेस कमजोर बन्दै गएको भन्ने टिकाटिप्पणी सुनिन थालेका छन् । त्यसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा ९ पालिका जितेको गोरखा कांग्रेस २०७९ मा दुई पालिकामा खुम्चिनु प¥यो । यो मतपरिणामलाई आधार मान्ने हो भने गोरखामा कांग्रेसको बिरासत गुमेको देखिन्छ । पार्टीभित्र हुने घात अन्तरघातकै कारण कांग्रेस कमजोर बन्दै गएको पार्टीका केही नेता/कार्यकर्ताको बुझाइ छ ।

हालै सम्पन्न वडा नम्वर ५ को उपचुनावको समिक्षा गर्ने हो भने सुक्ष्म अध्ययन, अनुसन्धानभन्दा ‘ओभरकन्फिडेण्ट’को ललिपपमा कांग्रेस अल्झिएको देखिन्छ । साथै माओवादी जसरी मिहिन रुपमा खट्यो, निरन्तरको खटाइमा कांग्रेस चुकेको देखिन्छ । ‘संगठनमा कांग्रेस अगाडि छ’ भन्ने अन्धविश्वासमा लिप्त भएको कांग्रेस ‘ओभर कन्फिडेन्ट’को गुलियोमा चिप्लिएकाले पल्टनबाजी खाएको पनि कोहीको तर्क छ । २०७९ को निर्वाचनमा पनि नगरकै चुनावमा ‘ओभर कन्फिडेण्ट’को मनको लड्डुमा ठेस लागेको कांग्रेस यसपटक पनि सोही भुमरीमा फँसेको देखिन्छ ।

संगठन बिस्तार र सुदृढिकरणमा दृढ भएर लागि नपर्ने आरोप खेप्ने गरेको कांग्रेस चुनावको पूर्व तयारीमा समेत चुकेको पार्टीकै केही कार्यकर्ता तर्क गर्छन् । ‘उपचुनाव हुने निश्चित नै थियो, एक दुई दिन तलमाथि मात्र हो,’ पार्टीमा आवद्ध एकले भने, ‘तर चुनावको लागि केही रणनीति अपनाएको देखिएन । चुनाव आउने केही दिन अघि मात्र चहलपहल देखाएर के काम !’
चुनावको हारलाई कतिपयले पार्टी नेतृत्वपंक्तिको कमजोरी र अपरिपक्कतासँग जोडेका छन् ।

‘अरुसँग सरसल्लाह नगर्ने र अरुले भनेको सुझावलाई वेवास्ता गर्दै आफूखुशी अघि बढ्दा यो नतिजा खेप्नु परेको हो,’ पार्टीमै आवद्ध एक नेताले भने । सांगठनिक नेतृत्व र कमाण्ड कसले गर्ने भन्ने कुरामा समेत अन्योलता रहेकाले समस्या भएको उनको भनाइ छ ।

सुगमको दुर्गम मानिने उक्त वडामा कांग्रेसकै पालामा पनि अपेक्षा अनुसारको बिकास नपाएकाले वडावासीहरु रुष्ट भएको केहीको तर्क छ । ‘एक त नगरकै नेतृत्व कांग्रेसले गरेका बेला पनि चुनावमा उनीहरुले गरेको वाचा पूरा गर्न सकेनन् । अर्काेकुरा, यो चुनावमा टोलस्तरसम्म कांग्रेस जति भिज्न सक्नुपथ्र्याे त्यसमा पनि चुक्यो,’ स्रोत भन्छ ।
उम्मेदवार चयनमा पनि ध्यान दिनुपर्ने वडाबासीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्