बसपार्कदेखि बिसौनी मोडसम्म घरअगाडिका संरचना हटाउन आग्रह
गोरखा बसपार्कदेखि बिसौनी मोडसम्मको फुटपाथ व्यवस्थापका लागि घर अगाडिको सेफ्टी ट्याङ्की लगायत संरचना हटाउन गोरखा नगरपालिकाले आग्रह गरेको छ । सडकको दुवैतर्फ नाला, सडक र फुटपाथ बन्ने भएकाले घर अगाडीका संरचनाहरु व्यवस्थापन गर्न गोनपाले सूचना जारी गरी आग्रह गरेको हो ।
फुटपाथ व्यवस्थापका लागि यसअघि स्थानीयहरुसँग गरिएको छलफलमा स्थानीयहरु आफैले घर अगाडिको सेफ्टीट््याङ्की लगायत संरचना हटाउने सहमति गरेका थिए । सोही सहमति अनुसार पुस १८ गतेसम्ममा संरचनाहरु हटाउन गोनपाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
गोनपाले सडक डिभिजन कार्यालय दमौलीसँग गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काम संचालनका लागि सहमति गरेको छ । बहुबर्षीय योजनामा समावेश गराउँदै नगरपालिकाले उक्त कामका लागि यो बर्ष ८० लाख रकम विनियोजन गरेको छ ।
गोरखा नगरपालिकाका अनुसार सडक डिभिजनले सडक र नाला निर्माणमा साथ दिने बताएको छ । योजना अन्तरगत बसपार्कदेखि खोलखोलेसम्मको सडक करिव तीन मिटर चौडा गर्ने र नालासहित फुटपाथ बनाउन लागेको हो । उक्त योजना सम्पन्न गर्न करिव १४ करोड लाग्ने नगरपालिकाले जनाएको छ ।