| शनिबार, माघ ५, २०८१

अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया

मंगलबार ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस गोरखामा पनि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेत्रहिन संघ गोरखाको आयोजनामा ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएको व्यक्तिको नेतृत्वको प्रवद्र्धन’ विषयमा अन्तरक्रिया गरी दिवस मनाइएको हो ।

सरोकारवाला निकायहरु र अपाङ्गता भएका व्यक्तिहरुबीच अन्तरक्रियात्मक गोष्ठी गरेर दिवस मनाइएको गोरखा नेत्रहिन संघकी अध्यक्ष गिता माया श्रेष्ठले बताइन् । ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि अनुकूल वातावरण नमिलाउनु, राज्यको मूलप्रवाहमा समावेश नगराउनु र ‘तिमी सक्दैनौ’ भन्नु हिंसा हो’, उनले भनिन्, ‘यसलाई मानसिक हिंसा भनिन्छ, । हाल अपाङ्गता भएकाहरुलाई शारिरीक भन्दा पनि यस्ता प्रवृत्तिका मानसिक हिंसा गर्ने प्रचलन बढ्दो छ । यसैका विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।’

अपाङ्गता भएका व्यक्तिहरुलाई पनि नेतृत्व गर्ने मौका प्रदान गर्नुपर्ने उनले बताएकी छिन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्लामा अपाङ्गता भएकाहरु माथि हुने हिंसाको अवस्था र विवरण प्रस्तुत गरेका थिए । यस्तै, अपाङ्गता अधिकार ऐन २०७४ का बारेमा पनि छलफल गरिएको बताइएको छ ।

गोरखा नेत्रहिन संघकी अध्यक्ष गिता माया श्रेष्ठको अध्यक्षता एवं जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बासुदेव पाठक, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्