| शुक्रबार, माघ ४, २०८१

बालबालिकाको किताबमा जनयुद्धको पाठ्यसामग्री

गोरखाको अजिरकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तकमा जनयुद्धको पाठ्यबस्तु समावेश गरेको छ । कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको हो ।

अजिरकोट सेरोफेरो नाम राखेर छापिएको सो पुस्तकको पेज नं. ४५ मा सामाजिक चेतना विषय क्षेत्रअन्तर्गत ‘जनयुद्ध र गणतान्त्रिक नेपाल’ शीर्षक राखिएको छ । सो पाठमा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’, ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दाबाद’ लगायतका नारा लेखिएका पोस्टरहरु राखिएका छन् । त्यस्तै सो पाठको सुरुमै ‘जनता नै इतिहासका निर्माता हुन् – माओ’, भन्ने माओत्से तुङको भनाइ उल्लेख गरिएको छ भने जनमुक्ति सेनाका तस्वीरहरु राखिएका छन् ।

कक्षा ५ लाई पढाउन भनेर तयार पारिएको सो पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजार भन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयबस्तु समाविष्ट छन् ।

अजिरकोट गाउँपालिका प्रकाशक रहेको सो पाठ्यपुस्तकको सम्पादनको जिम्मा रुम टु रिड नामक गैरसरकारी संस्थाका अनन्त वाग्ले, राजन सापकोटा र एलबी खड्का रहेका छन् । गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा संरक्षक र शिक्षा शाखाका प्रमुख सीताराम पन्त निर्देशक रहेको सो पाठ्पुस्तक स्थानीय विद्यालयका शिक्षकहरु कालिकाप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी, वुद्धिबहादुर विक, वीरबहादुर गुरुङ, हरिराम दवाडी, वीरेन्द्र कोइली, प्रदीप शेर्पा, दिल धामी र सन्तोष खनालले लेखेका हुन् ।

पाठ्यपुस्तकमा कसरी जनयुद्धका तस्वीर र विषयबस्तु छापियो भन्नेमा भने सबैले अनभिज्ञता प्रकट गरेका छन् । ‘एकाइ बाँडफाँट गरेर लेखेका थियौँ । एकाइ १६ को सामाजिक चेतनाको विषयमा लेख्ने जिम्मा वीरबहादुर सरको थियो’, लेखक मण्डलका कालीका अधिकारीले भने, ‘सामाजिक चेतना शीर्षकमा यस्ता विषयबस्तु पर्दैन भनेर हामीले असहमति जनाएका थियौँ । यस्तो तस्वीर आउलान् भन्ने त कल्पना पनि गरेका थिएनौँ ।

जेठमा लेखेर सकिएको थियो । अन्तिममा लेखक मण्डल, सम्पादक मण्डल र कार्यपालिका बसेर छलफल गर्ने भन्दा भन्दै मिटिङ नबसी एक्कासी हिजो अस्ति मात्र किताब पो छापिएर आयो ।’ यसमा आफूहरुले असहमति जनाइरहेको उनले बताए ।लेखक मण्डलकै अर्का वीरबहादुर गुरुङले पनि पुस्तकमा कसरी यस्ता तस्वीरहरु छापिए भन्ने बारे अनभिज्ञता प्रकट गरे ।

‘लेखक मण्डलले लेखेर पेश गरेको मस्यौदा सम्पादक मण्डलले अन्तिम रुप दिने हो’, गुरुङले भने, ‘मस्यौदा त्यति धेरै आपत्तिजनक थिएन तैपनि, अन्तिममा छलफल गर्नुपर्छ भन्दाभन्दै सम्पादक मण्डलले प्रेसमा पठाइदिएछन् । छलफल गर्न पाइएन । यी तस्वीरहरु कसरी छापिएर आए भन्ने बारेमा रुम टु रिड र कार्यपालिकालाई थाहा होला । एक पक्षीय नभइकन सामाजिक परिवर्तनका कालखण्डहरु लेख्ने भन्दाभन्दै यी फोटोहरुले गर्नुग¥यो ।’

जनयुद्धका विषयबस्तु छापिएका पाठ्यपुस्तकका सम्पादक मण्डल रुम टु रिडका एलबी खड्काले पनि जनयुद्धका विषयबस्तुप्रति आफूहरु जिम्मेवार नभएको दाबी गरेका छन् । ‘कन्टेन हामीले लेख्ने होइन, हामीले त लेखिएर आएका विषयबस्तु सम्पादन गर्ने मात्र हो । यसप्रति हामी जिम्मेवार छैनौँ’, उनले भने, ‘मस्यौदा आउँदा पनि कुरा त उठेकै थियो । सच्याउने कुरा थियो, तर नसच्याईकन कसरी छापिएर आएछ ।’

बालबालिकाले पढ्ने पाठ्यपुस्तकमा जनयुद्धको चित्रसहितको विषयबस्तु आउनुलाई गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पनि त्यति धेरै राम्रो मानेका छैनन् । ‘स्थानीय पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने भन्ने कुरा स्थानीय सरकार सञ्चालन ऐनमा कानूनी ब्यबस्था छ ।

त्यही क्रममा स्थानीय पाठ्यक्रम प्रारुप, स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाप्रति पूर्ण सचेत रहेर पाठ्यपुस्तक लेख्न सिनियर शिक्षकहरुलाई जिम्मा दिएका थियौँ’, देवकोटाले भने, ‘प्राविधिक सहयोगका लागि रुम टु रिडलाई आग्रह गरेका थियौँ ।

सरहरुले लेखेर ल्याउनु भएको मस्यौदा हेर्दा त्यति धेरै बेठिक थिएन । अहिले किताबमा आएका फोटाहरु त्यतिबेला आएका थिएनन् । इतिहास जस्ताको तस्तै उल्लेख गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । अब यसलाई फागुनभित्र सच्याएर पुनप्रकाशन गर्नेछौँ ।’ सच्याएर पुन प्रकाशन गर्ने बारे गाउँ शिक्षा समितिमा छलफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्