सिरानचोकमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सिरानचोक गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ६ स्थित सन्सारी मेहन्द्र माध्यमिक विद्यालयको संयोजनमा महटार खेलमैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा पालिकाभित्रका १५ माविका ३७० जना विद्यार्थीहरुको सहभागिता रहेको गाउँपालिकाको शिक्षा शाखाका कृष्णप्रसाद पोखरेलले बताए । तीनदिनसम्म चल्ने प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी ३० विधामा प्रतियोगिता हुने उनले बताए । जसमा दौड, भलिबल, कबड्डी, भाला, छेलो, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प तथा एथलेटिक्सका विभिन्न विधाका खेलहरु हुनेछन् ।
गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पूर्णविक्रम पौडेल, गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा, वडा नं ६ का वडाध्यक्ष प्रेमप्रसाद वस्ती, वडा नं. ३ का वडाध्यक्ष जगदीश ढकाल लगायतले मन्तव्य राखेका थिए ।