सुचिना हत्याका दोषीलाई यथासीघ्र पत्ता लगाई कारबाही गर्न आफन्तको माग
प्रतीक्षा आले मगर ।
बारपाककी सुचिना घलेको हत्यामा संलग्नलाई यथासीघ्र पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । काशीगाउँमा रहेका घलेका माइती पक्षले यथासीघ्र दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका हुन् । सुचिना हत्याको घटनाले सिंगो काशिगाउँ नै शोकमा डुबेको उनका आफन्त सोममाया गुरुङ बताउँछिन् ।
‘सुचिना मेरो जेठाजुको छोरी हो । बैशाख २८ गते बारपाकमा बिहे गरेर गएकी हो । त्यहाँ उसको यस्तो दर्दनाक हत्या हुन्छ भन्ने कुराको हामी सपनामा पनि सोच्न सक्दैनौँ’, उनले भनिन्, ‘हाम्रोतिर त कोही भिरबाट लडेर मर्छन्, ठूलो रोग लाग्यो भने कोही उपचार नपाएर मर्छन्, तर यसरी जंगलमा मारेर गाड्ने कुरा त कल्पनै गर्न सकिरहेका छैनौँ ।’ घलेको मृत्युले सिङ्गो काशीगाउँ नै त्रसित बनेको बताइन् ।
‘त्यो खबर सुनेदेखि सिङगो गाउँ नै डर त्रासमा बसेका छौँ । घरपरिवार लगायत हामी सिङ्गो गाउँ नै बेहाल बनेका छौँ’, उनले भनिन् । घटनाको दोषी चाँडोभन्दा चाँडो पत्ता लगाई नियमअनुसार कडा भन्दा कडा कडा कारबाही गर्नुपर्ने माग उनको छ ।
मृत्युको खबर पाउने वित्तिकै काशीगाउँका २४–२५ जनाको टोली बारपाक पुगेका थिए । आफ्नी भान्जी सुचिनालाई न्याय माग्ने उद्देश्यसहित आफन्तजनहरु बारपाक पुगेको काशिगाउँका आशबहादुर घलेले बताए ।
‘घटनाको अनुसन्धानमा ढिलाइ भयो भने, छिटोभन्दा छिटो दोषी पत्ता लगाएर कारबाही भएन भने हामी चुप लाग्न सक्दैनौँ’, घलेले भने, ‘जसरी पनि दोषीलाई पत्ता लगाएर कानुन अनुसार कडा कारबाही गर्नुपर्छ । मलाई त हाम्रो भान्जीलाई पनि निर्माला पन्त जस्तै अस्ताउने त होइन भन्ने डर छ । दोषीले कारबाही पाएन भने यस्तो घटना फेरि नघट्ला भन्न सकिदैँन ।’
बारपाक सुलिकोट गाउँपालिकाले पनि एक विज्ञप्ती जारी गर्दै अनुसन्धानमा सहयोग गर्न स्थानीय जनसमुदाय, जनप्रतिनिधि, वुद्धिजीवि, सुरक्षाकर्मी र राजनीतिककर्मीहरुलाई आग्रह गरेको छ । यता गोरखा प्रहरीले भने घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग काठमाडौँ लैजाने तयारी भईरहेको जनाएको छ ।