| आइतवार, माघ २७, २०८१

शवगृहको चिसो शैयाबाट न्याय माग्दै सुचिना

मेलिना बराम ।

विश्वभर ३३ औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेको थियो । मंसीर १५ गतेको त्यो कालो शनिबारको दिन । बिहान घरधन्दा सकिवरी, खाना खाएर घाँस काट्न निस्किएकी बारपाक गाउँकी सुचिना घले कहिल्यै नकर्किने गरी इहलोकबाट विदा भइन् ।

धार्चे ६ काशिगाउँकी १८ वर्षकी सुचिना कलिलै उमेरमा बैशाखमा विवाह गरी बारपाक गएकी थिइन् । उनी मंसीर १५ गते शनिबार बिहान १० बजेतिर घाँस काट्न भनी निस्किएकी थिइन् । घाँस काट्न गएदेखि सम्पर्कविहीन भएकी घलेकोे मंगलवार दिउँसो साढे एक बजे मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो । त्यसदिन साँझसम्म पनि घर नफर्केपछि स्थानीय र आफन्त खोजी कार्यमा जुटेका थिए । खोजी गरिदिन भन्दै उनीहरुले बारपाक प्रहरी चौकीमा समेत निवेदन दिएका थिए ।

प्रहरी र स्थानीय मिलेर खोजतलास गर्ने क्रममा मंगलवार जंगल नजिकै सुचिनाको शव फेला परेको हो । मंगलबार शव फेला पारेता पनि माइती पक्ष आएपछि मात्र निकालिने भनेर बुधबार निकालिएको थियो । मृत्युको खबर पाउने वित्तिकै काशीगाउँका २४–२५ जनाको टोली बारपाक पुगेका थिए । घलेको माइती गाउँ काशीगाउँका मानबहादुर गुरुङले पोस्टमार्टम रिपोर्टलाई आधार मानेर सुचिनाको मुखमा माटो र गोबर कोचेर हत्या गरेको अनुमान गरेका छन् ।

अपराध कर्ममा संलग्न व्यक्तिसंग प्रतिकार गर्दागर्दै धारिलो हतियार प्रहारबाट अन्ततः उनको मृत्यू भएको शव र घटनास्थलको प्रकृतिले बोल्छ । अहिले उनको शव पोस्टमार्टमका लागि काठमाडौँको टिचिङ हस्पिटल लगिएको छ । आफन्तले शव बुझ्न नमान्दा उनको शव सोही अस्पतालमै छ ।

मृतक घलेको शव पोष्टमाटर्मका लागि बुधबार टिचिङ हस्पिटलको फरेन्सिक मेडिसिन विभाग पठाइएको थियो । ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ अहिले देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । गत १० गतेदेखि सुरु भएको यो अभियान आउँदो २५ गतेसम्म चल्नेछ ।

अभियानको मध्यतिर गोरखामा लैंगिक हिंसाविरुद्धको एक निर्मम घटना घट्यो । अभियान चलाउने अभियन्ताहरु यति बेला कता छन् त ? घटना भएको पनि एक साता बढि भइसक्यो प्रतिकार गरेर कसैले पनि आवाज उठाएको देख्दिन त ? लैंगिक हिंसाविरुद्धको सरोकारवाला निकायहरुले के कानमा तेल हालेर बसेका छन् ? कि कालोचस्मा लगाएर बसेका छन् ? कतैबाट पनि, कसैबाट पनि सुचिना घलेलाई न्याय मागेको सुन्दिन त ?

यतिबेला त सरोकारवाला निकायहरुले शान्तिपूर्वक सडकमा उत्रिएर नाराबाजी गरेर, प्रशासनमा शान्तिपूर्ण रुपमा धर्ना दिएर न्याय माग्नु पर्ने बेला पो हो त । कहाँ गए त ती लैंगिक हिंसाका बारेमा ठूला ठूला भाषण गर्नेहरु ? तथाकथित अभियन्ताहरुले होटलको कुनै कोठामा, खाजा घरमा बसेर, चियाकफी गफमा मात्रै गर्ने हो र न्यायको कुरा ? ‘न्याय नपाए गोरखा जानु’ भन्ने उर्दी सदियौंदेखि चलि आएको छ ।

अनि गोरखामा यस्तो निर्मम हत्याको घटना घटी राख्दा किन कोही बोल्दैनन् ? किन तै चुप मै चुप गरेर बसिरहेका छन् । एउटा कलिलो उमेरकी गोरखाली चेलीले टिचिङ हस्पिटलको चिसो शवगृहबाट न्याय खोजिरहेकी छिन् । सूचिनाका लागि न्याय माग गर्दै मानव अधिकार तथा शान्ति समाज र नागरिक साझा सवालले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका त छन् । तर न्याय पाउने कुरा ज्ञापन पत्रहरुमा मात्रै सीमित राखेर बेअर्थ हुन्छ । काग गराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेझै हुन्छ कि, यसमा खबरदार गर्नु जरुरी छ ।

१६ दिनको अवधि भरी अभियानलाई नारामा मात्रै सिमित गर्ने हो की हिंसारहित समाज निर्माण गर्ने हो ? मेरो यो प्रश्न लैंगिक हिंसाविरुद्ध अभियान चलाउने सम्पूर्ण सरोकारवाला निकायहरुलाई । होटलहरुमा मानव अधिकारका भाषण गर्ने कार्यक्रमहरु पनि धेरै भेटिन्थे । अहिले ती अभियन्ताहरु कता छन् त जब खाँचो परेको छ ।

एकातिर लैंगिक हिंसाविरुद्धको अभियान चलिरहेको छ, अर्कातिर लैंगिक हिसाको चरम रुप एक किशोरीले प्रतिकार गर्दै जीवन समाप्त पार्नुपरेको छ । जिल्लामा यस्तो दर्दनाक घटना हुँदा पनि अभियानकर्ताहरुबाट घटनाको विरोध गरेको कहीँकतै चुँक्कसम्म पनि सुनिएन । रुकुमपश्चिममा भएको घटनाको विरोधमा यहाँ नारा जुलुस हुन्छ ।

कालिकोटको घटनामा यहाँ विरोध प्रदर्शन हुन्छ, तर आफ्नै जिल्लामा लैंगिक हिंसाको चरम नमूना हत्याको घटना हुँदा अभियानकर्ताहरु कता गायब छन् ? भर्खर घरगृहस्थीमा आएकी उनको यो निर्मम हत्याको प्रहरी र स्थानीय जनप्रतिनिधि, समाजसेवी, वुद्धिजीविहरुले अनुसन्धान गरिरहेका छन् । तर नौ दिन बितिसक्दा पनि अपराधी भने पत्ता लागेका छैनन् । तीन जना शिकारीलाई शंका गरी नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर दोषी पत्ता अझै लागेको छैन ।

कति क्रुर, निर्मम भएर हत्या गरिएको छ । चोरसंग पनि निश्चित इमान्दारिता हुन्छ भन्छन्, हत्याराको क्रुरताको पनि सीमा हुन्छ होला । यस्तो विभत्स हत्या गर्दा तिनको हात काँपेन होला ? जबकि, मलाई घटनाबारे समाचार लेख्नलाई पनि हात काँपेको छ । बाँया हातको माँझी र साईली औँला काटेर छिनालिएको अवस्थामा शव भेटिएको थियो । आजसम्म पनि ती दुई औँलाको बाँकी भाग भेटिएको छैन । उनले तिनै औँलाहरुको नङ्ग्रा खियाएर आफ्नो भविष्य उज्जव पार्ने सपना देखेकी थिइन् होला ।

ती सपना सपनामै सिमित रह्यो । सानै उमेरमा घरगृहस्थीमा आएकी सुचिनाले जुन डोको नाम्लो बोकेर आफ्नो थाप्ला खियाएर घरव्यवहार सिँगार्ने धोको राखी जङ्गल पसेकी थिइन् । ती मानव अनुहार परेको जन्तुले उनलाई डोको नाम्लोसँगै खाल्डोमा गाडिदियो । सानै उमेरकी युवतीको के दोष थियो होला र, त्यति निर्मम हत्या गरेको । एउटा नारीलाई त्यसरी गोबर माटो कोचेर मारेको घटना सुनिरहँदा म अर्को नारी भएर चुपचाप कसरी रहन सक्छु ।

उनले आफ्नो जीवनको लागि ती जन्तुसँग कति भिख मागिन् होला, बचाउको लागि कति चिच्याइन् होला । आत्मरक्षाको लागि कति संघर्ष गरिन् होला । सम्झिदाँ पनि मुटु काँपेर आउँछ । उनको बोलीलाई दबाउन त्यो प्रक्रिया अपनाएर हत्या गरिएको थियो । अनि हाम्रा अभियन्ताहरुको बोलीचाहिँ केले दबाएको छ त ? किन कोही बोल्दैन्न् । यो घटना हामी आफैलाई पनि कुनै दिन नपर्ला भन्न कहाँ सकिन्छ र ?

कस्को मन मा को पसेको हुन्छ र ? कुन दिन कसलाई के दशाले छोप्ने हो के थाहा ? आज सुचिनाको परिवारलाई परेको समस्या भोलि तपाई हाम्रो घरमा यस्ता खालका घटना नघट्ला भन्न सकिन्न । त्यसैले सम्बन्धित सरोकारवाला निकाय, अभियानकर्ताहरुले मात्रै होइन हामी सबैले मिलेर यो घटनाबारे खबदारी गरी घटनाको दोषी पत्ता लगाउन सहयोग गर्नु पर्छ । एक थुकी सुकी सय थुकी नदी भनेझै सबै एक जुट भएर सुचिना घलेलाई न्याय दिलाउनु पर्छ ।

अन्य जिल्लामा घटेका घटनाको भत्र्सना गर्दै जातीय सँस्था विद्यार्थी संगठनले पनि त आवाज उठाउने गरेको देखिन्थ्यो । आफ्नो जिल्लामा यत्रो घटना घटिरहँदा किन सबैको मुखमा चापी लागिरहेको छ त ? ती तातो रगत भएका जोशिला युवाहरु यति बेला कता छन् त ? आफ्नै छोरीचेली सम्झी गोरखाली एकजुट भएर न्यायको लागि किन अघि सर्दैनन् । शोकमा डुबेको माइती काशीगाउँका आफन्त परिवारजन अहिले न्यायको लागि सदरमुकाम आएका छन् । न्याय नपाउञ्जेल उनीहरुको जोश, जाँगरमा आलस्यता नआओस् ।

प्रतिक्रिया दिनुहोस्