| आइतवार, माघ २७, २०८१

७ अर्ब लागतमा ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । सो आयोजनाको हालै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट(ईआईए) राय सुझावका लागि सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशको गोरखा जिल्ला चुमनुव्री गाउँपालिकामा आयोजना निर्माण हुनेछ।
आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय राखेर सार्वजनिक गरेको हो । आयोजनाको प्रस्ताव विद्युत विकास विभाग रहेको छ । रिपोर्ट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत वन मन्त्रालयमा पेस भएको हो ।

३४.३९ मेगावाट क्षमताको जलविद्युत आयोजना रन अफ दि रिभर प्रकृतिको रहेको छ। प्रस्तावित आयोजनाको डिस्जार्ज ११.४ घनमिटर प्रति सेकेण्ड, ग्रस हेड ३५६.११ मिटर र नेट ३४६.४२३ मिटर रहेको छ ।

आयोजनाबाट वार्षिक १८६.९९ गिगावाट आवर उर्जा उत्पादन हुने रिपोर्टमा उल्लेख छ । आयोजनाको मुख्य संरचनाहरुमा वेयर, इन्टेक, ग्राभेल ट्रयाप एप्रोच क्याल, डिस्यान्डर हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, प्रेशर साफ्ट विद्युतगृह, स्वीचयार्ड र टेलरेस पर्ने रिपोर्टमा उल्लेख छ ।

आयोजनानको हेडरेस टनेलको लम्बाइ ४ हजार ७ सय ३८ मिटर र भूमिगत विद्युतगृहको लम्बाई ९७ मिटर, चौडाइ १५.२ मिटर र उचाई २७ मिटरको रहने छ । आयोजनाको कुल लागत ७ अर्ब २३ करोड ७( लाख ८३ हजार रहेको छ । यसैगरी प्रतिमेगावाटको लागत २२ करोड ५४ लाख १२ हजार रुपैयाँ रहेको छ।

आयोजनाको लागत अन्य आयोजनाको भन्दा बढी देखिएको छ । सामान्यतया पछिल्लो समय निर्माण भइरहेको आयोजनाको लागत प्रतिमेगावाट १९ देखि २० करोड रुपैयाँको बीचमा रहेको छ । तर यसको प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ रहेको छ ।

आयोजनाको निर्माण अवधि ४ वर्षको रहेको छ ।
आयोजनाबाट ४३ घरधुरी प्रभावित हुनेछन् भने ६ सय २४ वटा रुख कटानी हुने रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्