| आइतवार, माघ २७, २०८१

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।
गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार धुमधामले मनाएका छन् । समितिले सोमबार बिहान मौलिक भेषभुषामा सझिएर झाँकी सहितको ¥याली निकालेका थिए ।

हरमटारीबाट सुरु भएको ¥याली बिसौनी, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदैँ हरमटारी खेलमैदानमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै संरक्षक समितिका संयोजक टेकबहादुर गुरुङले ल्होसार गुरुङ समुदायको प्रमुख चाड भएकाले यसको ठूलो महत्व रहेको बताए ।

गुरुङहरुको थातथलो तथा मौलिकताको पहिचान र सरकारी कामकाजको भाषामा गुरुङ भाषा प्रयोग गर्नुपर्ने माग सहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रमकै अवसरमा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ९ जना तमु विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा तीन हजार बढीले अवलोकन गरेको उनको भनाई छ ।

तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष एवं गोरखा नगरपालिका ५ का वडाअध्यक्ष विष्णु राना मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
उनीहरुले गोरखा जिल्ला एवं गण्डकी प्रदेश तमु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यहाँ तमु एवं आदिवासी जनजातिहरुकै अग्राधिकार हुनु पर्ने बताएका थिए ।

लाप्राकमा तमु ल्होसार विशेष कार्यक्रम शुभारम्भ
धार्चे गाउँपालिका ४ लाप्राकमा तमु ल्होसार विशेष कार्यक्र शुभारम्भ गरिएको छ । पाँच दिनसम्म चल्ने ल्होसार विशेष कार्यक्रमको सोमबार गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले उद्घाटन गरेकी छन् । तमु क प्ये ल्हु संघ गोरखा जिल्ला लाप्राक इकाइसंगको सहकार्यमा तमु ल्होसार मूल आयोजक समितिले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटनको अवसरमा मनिडाँडाबाट निकालिएको विविध झाँकीसहितको ¥याली कार्यक्रमस्थल फ्याब्चेतसम्म पुगेर टुंगिएको थियो । ¥यालीमा स्थानीय आमा समूह, युवा क्लव, विभिन्न संघसंस्था सहभागी थिए । साथै घाँटु, स्यार्का, मकैबिहे, लामा नाच, झाँक्री नाचका झाँकीहरु निकालिएको थियो ।

इकाइका अध्यक्ष बिसबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ, विशेष अतिथि वडाअध्यक्ष किसान गुरुङ, स्थानीय समाजसेवी मार्सिङ गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका थिए । मंगलबारदेखि पुस १९ गतेसम्म हुने विशेष कार्यक्रममा महिला तथा पुरुष भलिबल प्रतियोगिताहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्