| आइतवार, माघ २७, २०८१

भच्चेक–खरिबोट सडक कालोपत्रे हुँदै

अजिरकोट गाउँपालिका–३ भच्चेक बाट खरिबोट अपुन हुँदै वलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।
सो सडकको ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । अजिरकोट–३ का वडाअध्यक्ष बाबुराम अधिकारीका अनुसार सडक निर्माणको काम केही दिन भित्रमा सुरु हुने गरी तयारी भईरहेको छ ।

त्यसका लागि सडक क्षेत्राधिकारभित्रका निजी तथा सार्वजनिक संरचना हटाउन सूचना जारी गरिसकिएको उनले बताए । गण्डकी प्रदेशको भौतिक योजना मन्त्रालयको १२ करोड ४१ लाख बजेटमा निर्माण हुन लागेको सो सडकखण्डको गत असारमा ठेक्का सम्झौँता भईसकेको उनले बताए । ‘६.५ किलोमिटरको सो सडकखण्डको असारमा नै ठेक्का सम्झौँता भईसकेको हो तर काम भने सुरु भएको थिएन’, उनले भने, ‘बल्ल ठेकेदार आएका छन् । अबको केही दिनमा काम सुरु हुन्छ ।’

वडाले सडक मापदण्डभित्र नपर्ने र सडक निर्माण कार्यमा अवरोध पु¥याउने निजि वा सार्वजनिक संरचनाहरु हटाउन सूचना समेत जारी गरेको उनले जानकारी दिए । कुल ६.५ किलोमिटरमध्य ९६० मिटरमा कालोपत्रे र बाँकीको ५.५४ किलोमिटरमा भने ग्राभेलको काम हुने पूर्वाधार कार्यालयका साइट इञ्जिनियर कपिल काप्रीले जानकारी दिए । साथै, नाला निर्माण र आवश्यक पर्ने ठाउँहरुमा वाल निर्माणको काम समेत हुने उनले बताएका छन् ।

२०८३ असारभित्र निर्माण सम्पन्न हुनुपर्ने उनको भनाई छ । प्रदेशले बिस्तारै बजेट थपेर पक्की सडक निर्माण गरिदिने प्रतिबद्धता जनाएको उनले बताएका छन् । ‘अहिले बजेट छैन भनेकाले यो योजनालाई बहुवर्षिय योजनाका रुपमा अघि बढाउन लागिएको छ’, उनले भने । सिन्धुपाल्चोकको बैकुण्ठ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले ठेक्का प्राप्त गरेको उक्त सडक निर्माण कार्यान्वयनको काम पुर्वाधार बिकास कार्यालयले गरेको छ ।

प्रदेशबाट चालु आव विनियोजित २ करोड रकमले सडक कालोपत्रे गर्न लागिएको हो । योजनाको हालसम्म वित्तिय प्रगति १७ प्रतिशत रहेको र जोइन्ट सर्भेको काम सम्पन्न भएको पुर्वधार बिकास कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्