| आइतवार, माघ २७, २०८१

वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चारजना पक्राउ

प्रहरीले वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा नगरपालिका–२ घर भई हाल काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारी विदेश नपठाइ सम्पर्कविहीन भएको भनी पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउ परेकामध्ये गोरखाका थापा र आलेले अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट रू तीन लाख ५५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्