| आइतवार, माघ २७, २०८१

‘शी लिड्स आइकन’ को सर्टलिस्टमा सिरानचोककी उपाध्यक्ष रिता देवकोटा

देशभरका महिला जनप्रतिनिधिहरुको प्रतिष्ठित प्रतियोगिता ‘शी लिड्स आइकन’ को सर्टलिस्टमा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा पनि छनोट भएकी छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णयक मण्डलले छनोट गरेको २७ जनाको सर्टलिस्टमा देवकोटा पनि परेकी हुन् ।

उनी शुक्रबार काठमाण्डौँमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएकी छिन् । नेपाली महिला जनप्रतिनिधिहरुको सुकर्मलाई सञ्चार गर्ने अभियान ‘शी लिड्स आइकन’को सर्टलिस्टमा छनोट हुँन पाउँदा निकै हर्षित बनेको देवकोटाले बताइन् । ‘मैले आजसम्म राजनीतिलाई पेशाको रुपमा नलिई निस्वार्थ सेवाको रुपमा लिएर काम गरेको छुँ’, उनले भनिन्, ‘यो प्रतियोगिताको सर्ट लिस्टसम्म पुग्नु पनि ठुलो कुरा हो, काम गर्दै गएपछि कर्मको फल मिल्ने रहेछ भनेर अनुभुति गरेकी छु ।’

उनले आगामी दिनहरुमा पनि आफ्नो निस्वार्थ कर्मलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । प्रतियोगिताको गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी उत्कृष्ट तीनमा रहेर आइकन घोषित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् ।

देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्ट भएका थिए । देशभरका १ सय २८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जसमा तीन जना प्रमुख र बाँकी उपप्रमुख छन् ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्