| आइतवार, माघ २७, २०८१

गोरखा–काठमाण्डौँ पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

नेपाली सेनाको टोली गोरखा काठमाण्डौँ पदयात्रा २०८१ मा निस्किएको छ । ३०३ औँ पृथ्वीजयन्तीको अवसरमा सेनाको २४ जना टोली गोरखा–काठमाण्डौँ एकिकरण मार्ग पदयात्रामा निस्किएको हो ।

उनीहरुलाई आइतबार बिहान एक कार्यक्रमकाबीच गोरखा दरबार परिसरबाट बिदाई गरिएको छ । राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, कलश र टर्च सहित फुलको माला लगाएर नेपाली सेनाको टोली गोरखा दरबार परिसर स्थित हनुमान भञ्ज्याङबाट बिदाई भएका हुन् ।


पृथ्वीनारायण शाहाले नेपाली एकिकरण गर्दा गोरखा देखि काठमाण्डौँ सम्म हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु पुस २६ गते काठमाण्डौँ पुग्ने र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिबस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुने नेपाली सेना रिपुमर्दन गण गोरखाले जनाएको छ ।


यात्रामा रिपुमर्दन गणसँगै नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको टोली सहभागी रहेको बताइएको छ ।

गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका भएर गोरखा–काठमाण्डौँ एकिरण पदमार्ग धादिङको सल्यान्टार जोडिनेछ ।


नेपाली सेना पश्चिम पृतना पोखराका प्रमुख उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर, जिल्ला स्थित शुरक्षा निकायहरु, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्