
माघ २२ बाट एच.पि.भि खोप संचालन हुने
पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा एच.पि.भि खोप अभियान संचालन हुने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई लक्षित गरी माघ २२ गतेबाट खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘बिद्यालयमा पढ्ने किशोरीहरुको हकमा ६ देखि १० कक्षासम्मका किशोरीलाई समेट्छौ,’ कार्यालयका खोप कोल्डचेन निरीक्षक नानीबाबु दानीले भने, ‘स्कुल नजानेहरुको हकमा भने १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिन्छौ ।’
फागुन ६ गतेसम्म संचालन हुने अभियानमा लक्षित उमेर समूहका १० हजार २६८ जनालाई खोप लगाउने लक्ष्य राखिएको उनले जानकारी दिए । खोप अभियान संचालनका लागि १ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । कुल २ सय ५ जना स्वास्थ्यकर्मी र ४ सय १० जना स्वयमसेवक खटिने छन् ।
अभियानका लागि अहिले जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम भइरहेको दानीले बताए । ‘स्वास्थ्य संस्था प्रमुख र पालिका प्रमुखहरुलाई अभिमुखिकरण गराइसक्यौ,’ उनले भने, ‘अहिले खोप कार्यकर्ता, स्वयमसेवक र बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण गर्ने काम सबै पालिकामा भइरहेको छ ।’ माघको १६ गतेभित्र अभिमुखिकरण कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए । उनका अनुसार माघ २० गतेभित्र सबै पालिकामा खोप पुगिसक्ने छ ।