गोरखा सदरमुकाममा माघे सक्रान्तिको रौनक (फोटोफिचर)
गोरखाका मगर समुदायले हर्ष उल्लासका साथ मंगलबार माघे संक्रान्ति पर्व मनाउँदैछन् । मगर समुदायको प्रमुख सांस्कृतिक पर्वका रुपमा माघे सक्रान्तिलाई माघीका रुपमा उनीहरुले मनाउने गर्दछन् ।

नेपाल मगर संघ, गोरखा नगरपालिका समितिको आयोजनामा गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा पालिकाको १४ वटै वडाबाट सहभागीहरु आएका थिए । उनीहरुले नेपाल मगर संघको कार्यालयदेखि हरमटारीस्थित खेलकुद मैदानसम्म विभिन्न झाँकीसहितको ¥याली प्रदर्शनी गरेका थिए ।

साथै हरेक पालिकामा पालिकास्तरीय समितिले पनि अलग अलग कार्यक्रम गरी माघी मनाएका छन् ।
¥यालीमा सोरठी, मारुनी, झ्याउरे, चुट्का, पाङ्दुरे गीत तथा नाचहरु पनि प्रदर्शन गरिएको थियो भने मगर समुदायले पञ्चेबाजा बजाएर नाचगान गरेका थिए ।

सहभागीहरुले मगर जातिको मौलिकता झल्किने भेषभुषा पनि लगाएका थिए । उनीहरुले गोरखाको हरमटारीस्थित रङ्गशालामा औपचारिक समारोह आयोजना गरी शुभकामना आदानप्रदान गरेका छन् ।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यस पर्वलाई विशेषगरी थारु र मगर समुदायले मुख्य चाडपर्वका रुपमा मनाउँछन् भने अन्य समुदायले पनि माघे सक्रान्तिका रुपमा विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।