
घाइते अवस्थामा भेटिएका बृद्धको मृत्यु
गोरखामा घाइते अवस्थामा भेटिएका एक बृद्धको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ काँडेझ्याङ्गका ८५ वर्षिय तोप बहादुर पाठकको मृत्यु भएको हो ।
उनी बिहीबार बिहान घाइते अवस्थामा बारीको पाटोमा फेला परेका थिए । ‘उनी आज बिहान साढे नौँ बजेतिर घाँटी, टाउको र खुट्टामा धारिलो हतियारको जस्तो देखिने गहिरो चोट लागेको अवस्थामा फेला परेका थिए’, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले भने, ‘घटना लगतै उनलाई उद्धार गरी उपचारका लागी गोरखा अस्पताल ल्याइएकोमा उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको छ ।’ घटनास्थलबाट धारिलो खुकुरी र पाठकको टोपी बरामद भएको उनले जानकारी दिए । घटना संकास्पद देखिएकाले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।