| आइतवार, माघ २७, २०८१

भूमि समस्या समाधान आयोग गोरखाको सदस्यहरुको नाम लगभग टुंगियो

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको सदस्यको नाम लगभग टुंगो लागेको छ । समितिको महिला सदस्यतर्फ नेपाली कांग्रेसकी फुलमाया गुरुङको नाम पठाइएको छ । उनी धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष समेत हुन् ।

समितिको अध्यक्ष र महिला सदस्य कांग्रेसको भागमा परेको हो । अध्यक्षमा राजनराज पन्त यसअघि नै नियुक्त भइसकेका छन् । गोरखा नगरपालिकाका निवर्तमान मेयर समेत रहेका उनले सपथ ग्रहण समेत गरिसकेका छन् । महिला सदस्यतर्फ फुलमायाको नाम आयोगमा पठाइएको कांग्रेस पार्टी स्रोतले जनाएको छ ।

समितिको बाँकी दुई सदस्य (बिज्ञ र खुल्ला) भने नेकपा एमालेको भागमा परेको छ । खुल्ला सदस्यतर्फ दुर्गामाया थापा रानाको नाम पठाइएको एमाले जिल्ला अध्यक्ष सुरेन्द्र थापाले बताए । राना गत मंसिरमा भएको उपनिर्वाचनमा गोरखा नगरपालिका वडा नम्वर ५ को अध्यक्ष पदमा पराजित भएकी थिइन् ।

बिज्ञ सदस्यको हकमा भने तीन जनाको नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष थापाले जानकारी दिए । ‘बिज्ञ सदस्यका लागि स्नातक तह उर्तिण गरेको हुनुपर्ने भन्ने छ, हामीले तीन जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाएका छौ,’ उनले भने, ‘प्रदेशले केन्द्र पठाउछ र केन्द्रले एक जना फाइनल गर्छ ।’ उनीहरुले पठाएको नामको आधारमा आयोगले नियुक्ती दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्