
बिचार र सिद्धान्त छाडेर व्यक्ति केन्द्रीत हुँदा कांग्रेसमा गुटबन्दी बढ्यो : निधी
नेपाली कांग्रेसका पुर्व केन्द्रीय उपसभापति बिमलेन्द्र निधिले बिचार र सिद्धान्त छाडेर व्यक्ति केन्द्रीत हुदाँ कांग्रेसमा गुटबन्दी बढेको बताएका छन् ।
बिहीवार गोरखामा आयोजित कृष्णप्रसाद भट्टराई जन्म शताब्दी बर्षको स्मृति समारोहमा बोल्दै उनले गुटवन्दीका कारण आफ्नैले आफ्नोलाई हराउने प्रवृति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । कृष्णप्रसाद भट्टराई र विपी कोइरालाको सिद्धान्त र बिचार खोज्न उनले कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।
‘राजनीति बडारियो, गुटवन्दीको राजनीति भयो, आफ्नै पार्टीको साथीलाई आफ्नैले हराइदिएको छ,’ पुर्व गृहमन्त्री समेत रहेका उनले भने, ‘अव कांग्रेसले किसुन जी र विपीको सद्धान्त अनि बिचार खोज्नुप¥यो, राष्ट्रियता र स्वतन्त्रताको बिचार खोज्नुप¥यो ।’ २०८४ सालको निर्वाचनमा जीतका लागि पनि गुटवन्दी अन्त्य गरेर अघि बढ्नुपर्ने उनले बताए ।
कृष्णप्रसाद भट्टराई मेमोरियल फाउण्डेशनको आयोजनामा तीनधारेस्थित कांग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा बिशेष अतिथि कांग्रेस पुर्व केन्द्रीय सदस्य चिरन्जिवी वाग्ले, कांग्रेस केन्द्रीय चिनकाजी श्रेष्ठ, अब्दुल सतार, सरस्वती अर्याल, गण्डकी प्रदेश महामन्त्री किरण श्रेष्ठ, पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोक भट्टराईले प्रतिष्ठानको बारेमा जानकारी गराएका थिए ।