
गोरखा नगरपालिकाका २५ सय बढी किशोरीलाई एच.पि.भि खोप लगाइने
गोरखा नगरपालिकाभित्रका २५ सय ७३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ । नगरभित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी यही माघ २२ गतेबाट नगरपालिकाले खोप अभियान संचालन गर्दै छ ।
अभियानका लागि नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार नगर खोप समन्वय समितिका पदाधिकारीहरुका लागि अभिमुखीकरण समेत गरेको छ । कार्यक्रममा सहजिकरण गर्दै स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले २४ गतेसम्म खोप अभियान संचालन हुने बताए । अभियानमा छुटेकाहरुले भने माघ २५ गते गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकमा आएर खोप लगाउन सक्ने उनले जानकारी दिए ।
‘बिद्यालयमा पढ्नेहरुको हकमा ६ देखि १० कक्षासम्मका किशोरी र बिद्यालय नजानेका हकमा भने १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप लगाउँछौ,’ उनले भने । महिनावारी भएका बेलामा पनि यो खोप लगाउने मिल्ने उनले जानकारी दिए ।
खोप अभियान संचालनका लागि नगरपालिका भित्र ३३ वटा खोप केन्द्र रहने छन् । ६३ जना महिला स्वास्थ्य स्वयमसेविका र ६६ जना स्वयमसेवक खटिने छन् । अघिल्लो वर्ष प्रदेशस्तरीय खोप अभियान सञ्चालन गरिएको थियो । यो वर्ष भने सबैको पहुँच पु¥याउनका लागी संघ, प्रदेश र स्थानीय तीनै तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।