| आइतवार, माघ २७, २०८१

मनास्लुमा १० हजार ६ सय विदेशी पर्यटक, अघिल्लोबर्ष भन्दा पन्द्रसय पर्यटक बढे

प्रसिद्ध पर्यटकीय स्थल मनासलु क्षेत्रमा अघिल्लो बर्षभन्दा सन् २०२४ मा पन्द्रसय विदेशी पर्यटक वृद्धि भएको छ । सन् २०२३ मा नौहजार १७७ जना विदेशी पर्यटक पुगेको सो क्षेत्रमा सन् २०२४ मा १० हजार ६०० विदेशी पर्यटकले भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । यो मनासलु क्षेत्र भ्रमण गर्ने हालसम्मकै ठुलो पर्यटकको सङ्ख्या हो ।

दक्षिण एशियाली राष्ट्रका भन्दा यूरोप तथा अमेरिकी मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उनले जानकारी दिए ।

यस्तै, एक हजार १८१ जना जर्मनी नागरिक र ७९६ जना अमेरिकी नागरिकले मनासलु क्षेत्र भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सार्क सदस्य राष्ट्रहरुमध्ये भारतबाट सबैभन्दा धेरै १५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेको बताइएको छ । यसैगरी नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट पनि विदेशी पर्यटकहरु मनास्लु क्षेत्र घुम्न पुगेका थिए ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क सदस्य राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । पर्यटकले काठमाडौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनु पर्ने व्यवस्था छ । यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनको भनाइ छ ।

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि सिजनमा पर्यटकले प्रति व्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेसिजनमा २५ डलर मात्र ।

त्यस्तै नुव्री भ्यालीका लागि सिजनमा प्रति व्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एकहप्ता बाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउन पर्नेहुन्छ । निषेधित क्षेत्रका रुपमा रहेको मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको सात वटा वडा पर्दछन् । यसबर्षदेखि विदेशी र स्वदेशी पर्यटकसंग गाउँपालिकाले पनि राजस्व संकलन सुरु गरेको छ ।

पालिकाले गत असोज १ गतेबाट राजस्व संकलन गर्न सुरु गरेको हो । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रुपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्