| आइतवार, माघ २७, २०८१

खाद्यले सोना मन्सुली चामलको मूल्य घटायो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले सोना मंसुली चामलको मुल्य घटाएको छ । प्रतिकेजी दुई रुपैँयासम्म घटाइएको कार्यालयले जनाएको छ ।

‘यसअघि हामीले कार्यालयको शाखा गोरखाबाट प्रतिकेजी ६६ र डिपो सिर्दिबास, बिक्री केन्द्र चुम्लिङ्ग र नाम्रुङ्गमा प्रतिकेजी ६७ रुपैँयाका दरले बिक्री वितरण गर्दै आएका थियौँ’, कार्यालयकी प्रमुख रन्जना केसीले भनिन्, ‘हाल मुल्य समायोजन गरेर प्रतिकेजी ६५ पु¥याएको हो ।’

यसैगरी कार्यालयले स्टिम जिरा चामल शाखामा प्रतिकेजी ९० र डिपो तथा बिक्री केन्द्रहरुमा प्रतिकेजी ९२ का दरले बिक्री वितरण गर्दै आएको उनले जानकारी दिइन् ।

हाल कम्पनीले धमाधम ढुवानी कार्य समेत संचालन गरिरहेको उनले बताएकी छिन् । ‘निर्धारित कोटालाई मध्यनजर गर्दै हाल धमाधम ढुवानी कार्य संचालन गरेका छौँ’, उनले भनिन्, ‘समयमै ढुवानी गर्ने लक्ष्यका साथ ढुवानीको कामलाई तिब्रता दिइएको हो ।’

यो वर्षका लागी सिर्दिबास डिपोका लागी निर्धारण गरिएको एक हजार क्वीन्टल खाद्यन्नमध्य हालसम्म ३५४.५० क्वीन्टल ढुवानी गरिसकेको उनको भनाई छ । यस्तै, बिक्री केन्द्र नाम्रुङ्गका लागी निर्धारण गरिएको ७५० क्वीन्टलमध्ये ४५८.५० क्वीन्टल र बिक्री केन्द्र चुम्लिङ्गका लागी निर्धारण गरिएको ७५० मध्ये २१० क्वीन्टल खाद्यन्न ढुवानी भईसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्