| आइतवार, माघ २७, २०८१

२२ गतेबाट सञ्चालन हुने एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा

यही माघ २२ गतेबाट फागुन ६ गतेसम्म संचालन हुन लागेको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाले मंगलबार सर्वपक्षीय अभिमुखीकरण कार्यक्रम आयोजना गरी खोपका बारेमा जानकारी गराएको हो ।

सो अभियानमा जिल्लाका १० हजार २६८ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको कार्यालयले जानकारी दिएको छ । एचपिभी खोप आगामी वर्षबाट नियमित खोपका रुपमा लगाइने कार्यालयले जनाएको छ । खोप अभियान संचालनका लागि १ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । कुल २ सय ५ जना स्वास्थ्यकर्मी र ४ सय १० जना स्वयमसेवक खटिने छन् ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य, रणनीति तथा कार्यक्रमको मुख्य उपलब्धीहरुका बारेमा छलफल भएको थियो । पाठेघरको मुखको क्यान्सरको अवस्था तथा निवारण रणनीतिका बारेमा समेत कार्यक्रममा छलफल भएको थियो । यस्तै, एचपिभी खोपको परिचय र नेपालमा एचपिभी खोप सेवा संचालनका विषयमा पनि अन्तरक्रिया भएको छ ।

जिल्ला खोप समन्वय समितिका उपाध्यक्ष एवं जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु, जनस्वास्थ्य कार्यालयका प्रमुख एवं प्रतिनिधि, संचारकर्मीहरु, सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

सरकारले महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय रुपमा एचपिभि खोप अभियान संचालन गर्न लागेको छ । अभियान अन्तरगत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई लक्षित गरी माघ २२ गतेबाट खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘बिद्यालयमा पढ्ने किशोरीहरुको हकमा ६ देखि १० कक्षासम्मका किशोरीलाई समेट्छौँ,’ कार्यालयका खोप कोल्डचेन निरीक्षक नानीबाबु दानीले भने, ‘स्कुल नजानेहरुको हकमा भने १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्