
गोरखा नगरपालिकाको केरौँजाबस्तीमा सिँढी निर्माण
गोरखा नगरपालिका–६ स्थित केरौँजाबस्तीका बासिन्दाहरुलाई लक्षित गरेर सिँढी निर्माण गरिएको छ । गोरखा नगरपालिका वडा नं ६ को पहलमा सिँढी निर्माण गरिएको वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिए । वडाको डेढ लाख रुपैयाँ बजेटमा सिढी निर्माणको काम सम्पन्न भएको उनले जानकारी दिए ।
‘पहिला त्यहाँ हिड्ने बाटै थिएन । पक्की सिँढी बाटो बनेपछि उनीहरुलाई आवतजावतमा निकै सहज हुने भएको छ’, उनले भने । सिँढी निर्माणको काम सम्पन्न भएता पनि निरीक्षण भने बाँकी नै रहेको उनले बताएका छन् । हाल केरौँजाबस्तीमा २५ घरधुरी रहेको उनको भनाइ छ । २०७२ सालको भूकम्प र पहिरोका कारण बिकट मानिने धार्चे–२ को केरौँजा बस्तीका केही घर बसाइँ सरी गोरखा नगरपालिका कार्यालयको नजिकै रहेको खेतमा बस्न आएका थिए ।
उनीहरुलाई त्यहाँ पुनस्थापना गर्न सरकारले घडेरी किन्ने र पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि तीनलाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यहाँ गोरखा नगरपालिकाले खानेपानी, विद्युत सेवा यसअघि नै उपलब्ध गराइसकेको थियो । अहिले सिँडी बाटो निर्माण गरेको हो ।