
आज सार्वजनिक बिदा, खोप भने नियमित संचालन हुने
गण्डकी प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदाको घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि फागुन ४ गते प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिइन्थ्यो । तर गण्डकी प्रदेशको नामाकरण गरेको दिनभन्दा प्रदेश विभाजनको निर्णय भएको दिन महत्वपूर्ण भएकाले सातवटै प्रदेशले एउटै दिनमा स्थापना दिवस मनाउने निर्णय भएअनुसार माघ २२ गतेलाई प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।
प्रदेशले आव्हान गरेको भए पनि नेपाल सरकार(संघ) अन्तर्गतका कार्यालयहरुमा पनि सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले आव्हान गरेको ६ वटा विदालाई संघ सरकारका मन्त्रालय माताहतका कार्यालयले पनि कार्यान्वयन गर्ने नीति अनुसार आज मंगलबारको विदा कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
सार्वजनिक बिदा भएपनि खोप अभियान भने संचालन हुन्छ : स्वास्थ्य कार्यालय
मंगलबार सार्वजनिक बिदा भएपनि खोप अभियान भने संचालन हुने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गण्डकी प्रदेशले सूचना जारी गर्दै प्रदेशको स्थापना दिवसको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सार्वजनिक बिदा भएता पनि एचपिभि खोप अभियान भने संचालन हुने स्वास्थ्य कार्यालयको भनाई छ । ‘बिदाले अभियानलाई खासै फरक पर्दैन्, आज (मंगलबार) गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित महालक्ष्मी माविमा खोप अभियानको उद्घाटन कार्यक्रम रहेको छ’, स्वास्थ्य कार्यालयका जनस्वस्थ्य निरिक्षक नानीबाबु दानीले भने । यही मंगलबारदेखि शुक्रबारसम्ममा जिल्लाभर खोप अभियान सम्पन्न गर्ने लक्ष्य कार्यालयको रहेको उनले बताएका छन् ।
सरकारले महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय रुपमा एचपिभि खोप अभियान संचालन गर्न लागेको हो । अभियान अन्तरगत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई लक्षित गरी मंगलबार (माघ २२) गतेबाट खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो अभियानमा जिल्लाका १० हजार २६८ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको कार्यालयले जानकारी दिएको छ । एचपिभी खोप आगामी वर्षबाट नियमित खोपका रुपमा लगाइने कार्यालयको भनाई छ । खोप अभियान संचालनका लागि १ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । कुल २ सय ५ जना स्वास्थ्यकर्मी र ४ सय १० जना स्वयमसेवक खटिने छन् ।