
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित
आदिवासी जनजाति आयोगले चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई सम्मान गरेको छ । मौलिक परम्परा र प्रथालाई संरक्षण र जगेर्ना गर्न पालिकाबाट संस्थागत पहलकदमी लिएको भन्दै आयोगले चौंथो वार्षिक उत्सवको अवसरमा अध्यक्ष लामालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो ।
‘नेपालको संविधानको मर्म र भावनलाई आत्मसात गरी परम्परागत प्रथाजनित कानून, शाग्या परम्परा संरक्षण र आम्ची संरक्षण गर्न स्थानीय कानून निर्माण गरी कार्यान्वयन गरेकाले सम्मान गरिएको’ आयोगका अध्यक्ष रामबहादुर थापाद्वारा हस्ताक्षर गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । सभामुख देवराज घिमिरे र आयोगका अध्यक्ष थापाले संयुक्त रुपमा लामालाई सम्मान गरेका हुन् ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले चुम उपत्यकामा प्रचलित श्याग्या परम्परालाई संरक्षण गर्न र प्रचार प्रसार गर्न उल्लेख्य भूमिका निर्वाह गरेको आदिवासी जनजाति आयोगले मूल्यांकन गरेको छ । साथै चुमनुब्रीमा प्रचलित आम्ची उपचार पद्धतिलाई कानूनी मान्यता दिन कानून बनाएर लागु गरेकोप्रति पनि आयोगले उच्च मूल्यांकन गरेको छ ।