| शुक्रबार, कार्तिक १४, २०७७

शहिदलखनमा १४२ जना गर्भवतीको वडाकै स्वास्थ्य संस्थामा भिडियो एक्सरे

वडावडामा गर्भवतीको भिडियो एक्सरे सेवा सुरु गरेको गोरखाको शहिदलखन गाउँपालिकाले एक महिनाभित्र एक सय ४२ जना गर्भवतीको एक्सरे गरेको छ । गर्भवती महिलाहरुलाई वडाकै स्वास्थ्य संस्थामा बोलाएर भिडियो एक्सरे सेवा निशुल्क दिइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
वडा नम्बर १ को बक्राङमा १५ जना, २ को मनकामना १७, वडा नं. ३ मनकामना १४ जना, वडा नं.४ ताक्लुङ ११ जना, वडा नं. ५ ताक्लुङ ४ जना वडा नं. ६ घैरुङमा २१ जना, वडा नम्बर ७ बुङकोट ३० जना, वडा नं. ८ बुङकोट १९ जना र वडा नं. ९ नाम्जुङमा ११ जना गर्भवतीले सेवा लिएका थिए । गर्भाअवस्थामा महिलाहरुले कम्तिमा तीन पटक आफ्नो गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन भिडियो एक्सरे गर्छन ।

चिकित्सकले पनि अनिवार्य रुपमा भिडियो एक्सरे गराउनुपर्ने बताउँछन् । ‘ठुला अस्पतालमा गएर लिनुपर्ने सेवा गाउँपालिका बाट निशुल्क दिएपछि धेरै सहज महशुस गरेका छन्’ स्वास्थ्य शाखाका प्रमुख श्रेष्ठले भने ।

आउँदो महिनादेखि समय तालिका मिल्ने गरी सेवा दिने उनले बताए । भिडियो एक्सरे गर्न आएका बेला गर्भवतीहरुलाई स्वास्थ्यकर्मी परामर्श सेवा पनि दिनेछन् । भदौ महिनामा गरिएको भिडियो एक्सरेका क्रममा सबैको अवस्था समान्य देखिएको स्वास्थ्य शाखाले जनाएको छ । यो सेवा लिन गर्भवती महिलाहरु सदरमुकाम धाउनु पथ्र्यो ।

आउजाउमा समस्या र तीन पटक आउँदा खर्चिलो हुने भिडियो एक्सरे सेवा गाउँमै दिएपछि सबै महिलाको पहुँचमा स्वास्थ्य संस्था पुग्न सक्ने गाउँपालिकाको अपेक्षा छ ।
‘गर्भवती भएको चार महिनादेखि सुत्केरी भएको ४५ दिन सम्म क्याल्सियम खानुपर्छ, त्यो पनि गाउँपालिकाबाट निशुल्क दिने योजनामा छौँ’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्