| शुक्रबार, कार्तिक १४, २०७७

धार्चेकी एक महिलाले ७७ वर्षमा नागरिकता लिईन

गोरखाको धार्चे गाउँपालिका ६ यार्साकी असरी घलेले ७७ वर्षको उमेरमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइकी छिन् ।


२००१ जेठ ५ गते जन्मिएकी गुरुङले ७० वर्ष उमेर पुगेदेखी सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउँथिईन । तर नागरिकता नहुँदा उनले अहिले सम्म सामाजिक सुरक्षाको रकम नपाएको नागरिकता बनाउन लिएर आएका उनका नाती मैते घलेले बताए । नागरिकता किन बनाउनुपर्छ, फाईदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा वृद्ध महिलाले अहिले सम्म नागरिकता बनाउन चासो दिईनन् ।


‘आरुघाट गाउँपालिकाको सोती सम्म बोकेर ल्याएको हो’ घलेले भने ‘वृद्ध मान्छे हिड्न सक्नुभएन, मान्छेले बोकेर ल्याएका हौँ ।’ अहिले वर्षातको बेला भएको र आउजाउ गर्न समेत समस्या भएको उनले बताए । दुई दिन लगाएर नागरिकता लिन सदरमुकाम आएकी असरी घले प्रमाण पत्र पाएपछि खुसी भएकि छिन् । उनलाई नागरिकता बनाउन सदरमुकाम सम्म आउनका लागि काशिगाउँका नुर्बु घलेले आर्थिक सहयोग गरेका छन् । दुई जना नाती नातीनी सहित आउँदा घले परिवारको आउजाउमा १५ हजार लाग्ने अनुमान छ ।


परिवारका सदस्यलाई पनि नागरिकता नभएको बारे थाहा नहुँदा अहिले सम्म बन्न नसकेको बताएका छन् । स्थानीय भाषा मात्रै बोल्न सक्ने असरीलाई अब फेरी एकदिनको बाटो बोकेर लैजानुपर्ने बाध्यता परिवारलाई छ ।

बेला बखत जिल्ला प्रशासन कार्यालय गोरखामा वृद्ध अवस्था सम्म नागरिकता बनाउन बाँकी रहेकाहरु आउने गर्छन । घुम्ती टोली गाउँगाउँमा जाँदा समेत नागरिकता बनाउन कतिपय धेरै वर्ष अघि देखि छुटेको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्