| सोमवार, कार्तिक १०, २०७७

ब्यवशायीक कृषिका लागि ज्ञान केन्द्रको बजेट १३ करोड ४५ लाख

साना सिंचाई कार्यक्रम संचालनका लागि दुई करोड ५० लाख, प्राङ्गारिक मिशन कार्यक्रमका लागि ९७ लाख २९ हजार, तरकारी उत्पादन प्रोत्साहन सहयोग ६४ लाख ५० हजार । यो चालु वर्ष कृषि ज्ञान केन्द्र गोरखाले जिल्ला भित्र संचालन गर्ने कार्यक्रम हो ।


यी प्राथमिकताका केही कार्यक्रम मात्र हुन् । यी बाहेक चालु वर्ष २०७७/७८ मा कृषि प्रर्वद्धनका लागि ज्ञान केन्द्रलाई १३ करोड ४५ लाख ६६ हजार बजेट बिनियोजन भएको छ । संघिय सरकारबाट हस्तान्तरित कार्यक्रमको चार करोड १६ लाख ८६ हजार र प्रदेश तर्फको ९ करोड २८ लाख ८० हजार बजेट आएको ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले बताईन ।


बिहिवार ज्ञान केन्द्रले कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चालु वर्ष हुने कार्यक्रमको बिवरण र रकम सार्वजनीक गरेको हो । मकै उत्पादन प्रर्वद्धन कार्यक्रमका लागि ४० लाख बजेट निकासा भएको छ । किसानका लागि तालिम, गोष्ठी, अभिमुखिकरण कार्यक्रम र अनुदानमा पनि लाखौँ बजेट छुट्याइएको छ ।


‘रैथाने बाली प्रर्वद्धन, प्राङ्गारीक मलमा किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम चालु वर्ष सञ्चालन हुनेछ’ ज्ञान केन्द्रकी प्रमुख थापाले भनिन् । साना सिंचाई आयोजना ५० वटा निर्माण गर्न दुई करोड ५० लाख बिनियोजन गरिएको छ । कृषक परिचय पत्र बितरण, बर्गिकरण, कृषि संम्बन्धि तथ्याङ्क संकलन, कृषि प्रर्दशनी जस्ता कार्यक्रम पनि समेटिएका छन् ।


आलु खेती प्रर्वद्धन, प्लान्ट क्लिनिक सञ्चालन, बालीको बिमा शुल्कमा किसानलाई २५ प्रतिशत अनुदान, मकै भटमास र चैतेधान खेती बिस्तार, ग्रामिण क्षेत्रको करेसाबारी बगैँचा स्थापना जस्ता महत्वकांक्षी र सहज कार्यन्वयनमा चुनौती रहका कार्यक्रम पनि चालु वर्ष समेटिएका छन् ।


बिउमा अनुदान, फलफुल तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहनका कार्यक्रमले प्राथमिकता पाएका छन् । बाँझो जमिनमा खेती गर्नेहरुलाई अनुदान दिने कार्यक्रम रहेको छ । ज्ञान केन्द्रकी प्रमुख मनिता थापाका अनुसार कम्तीमा तीन वर्षदेखि बाँझो रहेका ५० हेक्टर क्षेत्रफल जमिनमा खेती गराउने लक्ष्य रहेको छ । उक्त कार्यक्रमका लागि ३० लाख बजेट बिनियोजन गरिएको छ ।

किसानका मागमा आधारित सहयोगका कार्यक्रममा पनि चालु वर्ष संचालन हुनेछन् । ‘अधिकासं अनुदान र सहयोग कृषि समुह, सहकारी, फर्मलाई लक्षित गरिएको छ’ उनले भनिन् । कार्यविधि अनुसार कार्यक्रम संचालन गर्न केही कार्यक्रमको भने संचालन निर्देशिका आएको छैन ।


जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ सहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितीमा सार्वजनिकिकरण कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुखलाई आफ्नो पालिका भित्र ब्यवशायीक कृषि गर्न चाहानेको फार्म दर्ता गरिदिन ज्ञान केन्द्रकी प्रमुख थापाले अनुरोध गरिन । ‘नयाँ कृषि समुह, फार्म दर्ता भएन भने पुरानैले मात्रै अनुदान पाउने, नयाँ किसानले नपाउने संभावना हुन्छ’उनले भनिन् । चालु वर्ष बिनियोजन गरिएको बजेट गत वर्षको भन्दा करिब तीन प्रतिशतले कम हो ।

जनशक्ति अभावका कारण कृषि क्षेत्रमा बिनियोजन गरेको बजेट खर्च गर्न नसकेको, आधुनिक कृषि प्राणाली स्थापित गर्न, किसानलाई प्रोत्साहन गर्न नसकेको गुनासो जनप्रतिनिधिहरुको थियो ।

प्रतिक्रिया दिनुहोस्