| सोमवार, कार्तिक १०, २०७७

editorial

चाडबाडमा गाउ“घर फर्कनेलाई स्वास्थ्य सुरक्षाको के ब्यबस्था छ ?

केहीदिनअघि भक्तपुरमा कोरोना पुष्टि भएकी एक महिला भागेर गोरखाको सिरानचोक खहरेमा आएर घरमा बसिन् । कोरोना संक्रमण भएको पुष्टि भएपछि भक्तपुरको डेरा गरेको घरबाट रातारात भागेर ट्याक्सी रिजर्भ गरी आइन् ।

अब उनले काम गर्ने औषधी फ्याक्टूीका अरु कामदार, उनले रिजर्भ गरेको ट्याक्सीवाला, डेरा गरेको घरवाला पनि शंकाको घेरामा रहे । त्यस्तै उनी भागेर घर आएपछि घरमा हेलमेल भएका बालबच्चा, बालबच्चा चहारेका पसललगायतकाहरु पनि शंकाको घेरामा परे ।

यदि उनी संक्रमित हुन् भन्ने कुरा नचुहिएको भए बाँकी सबै संक्रमितहरुको अबश्था अज्ञात नै हुने थियो ।
यो एउटा घटनाले आउँदा दिनहरुलाई संकेत गर्छ । अब धमाधम यसरी भागेर घर आउने घटना बढ्दै जानेछन् । किनभने जब लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेशनको बिकल्प खुल्ला गरियो, उनीहरु रातारात चलखेल गर्ने सम्भावना बढ्छ ।दशै आउँदैछ । शहरमा बसेकाहरु धमाधम गाउँ आउँदैछन् । उनीहरु पनि कतिपय संक्रमित भएका हुनसक्छन् । सार्वजनिक सवारी साधन चलेको छ । कहीँ कतै छेकथुन हुदैन ।

चाडबाडका बेला ठूलो संख्यामा गाउँ भित्रिनेहरु हुन्छन् । उनीहरु गाउँ आउँदा संक्रमण बोकेर आउदैनन् भन्ने आधार छैन । उनीहरुको कोरोना परीक्षण गर्नु अत्यन्त जरुरी छ । यसका लागि पालिकाहरुले पूर्व सावधानी अपनाएर कि पिसिआर रिपोर्ट लिएर आउनु पर्ने, कि आएर क्वारेण्टाइनमा बस्नु पर्ने नियमलाई कडाइका साथ पालना गर्न लगाउनु पर्छ । नत्र चाडबाडका बेला कोरोना भयाबह रुपमा फैलन सक्ने सम्भावना देखिन्छ ।
बेला गुज्रिएपछि हतार र हतास मनस्थितिमा निणर्य गर्नुभन्दा अहिलेदेखि नै यस बारेमा योजना बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्