| शनिबार, बैशाख ८, २०८१

त्रिभुवन पुस्तकालय जीर्णोद्वार गर्न आर्थिक अभाव

निर्माणाधीन त्रिभुवन पुस्तकालयको बाँकी काम सम्पन्न गर्न आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण भवन निर्माणको काम लामो समयदेखि रोकिएको छ ।


संकलित रकम पनि सकिएको र प्रतिवद्धता व्यक्त गरेकाहरुबाट पनि पूरै रकम नआएकाले फिनिसिङका कामहरु गर्न नसकेको पुस्तकालय निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।


‘अहिलेसम्म २८ लाख २३ हजार रुपैयाँ खर्च भएको छ तर २४ लाख आठ हजार रुपैयाँ मात्र संकलन भएको छ’, श्रेष्ठले भने, ‘चार लाख रुपैयाँ यसै अपुग छ । अब फिनिसिङको काम गर्न बजेट छैन ।’ फिनिसिङका लागि अझै करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान समितिले गरेको उनले बताए ।
पुस्तकालय जीर्णोद्वारका लागि गोरखा नगरपालिकाबाट १२ लाख ५० हजार रुपैयाँ प्राप्त भएको श्रेष्ठले बताए ।


मनकामना केवलकार सञ्चालक राजेशबाबु श्रेष्ठले १० लाख रुपैयाँ दिने घोषणा गरेका थिए । उनीबाट अहिलेसम्म पाँच लाख रुपैयाँ मात्र प्राप्त भएको छ । त्यसैगरी पोखरीथोकका विनयकुमार श्रेष्ठबाट १० लाख रुपैया दिने प्रतिवद्धता गरेकामा छ लाख ५० हजार रुपैयाँ प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए ।


७० बर्ष लामो इतिहास बोकेको त्रिभुवन पुस्तकालय निर्माणका लागि अझै आवश्यक पर्ने २५ लाख रुपैयाँ जुटाइदिनका लागि समितिले सहयोगदाता, शुभचिन्तहरुमा अनुरोध गर्ने निणर्य गरेको छ ।
सो भवन भुइँचालोले जीर्ण भएपछि स्थानीयबासीकै पहलमा निर्माण कार्य आरम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्