| बिहिबार, चैत्र १५, २०८०

बहराईनका राजकुमारको ७० जनाको टोली सामागाउँमा

बहराईनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली गोरखाको मनास्लु हिमाल आरोहण गर्न आउने भएपछि सहयोगका लागि एक टोली सामागाउँ पुगेको छ । ७० जनाको टोली बिहिवार त्यहाँ पुगेको चुमनुब्री गाउँपालिका १ सामागाउँका वडा अध्यक्ष बिरबहादुर लामाले बताए ।

‘करिब ७० जना, शेर्पा र सहयोगीहरु आउनुभएको छ’ अध्यक्ष लामाले भने ‘समागाउँको होटलहरुमा बस्नुभएको छ, शनिवार मनास्लु बेसक्याम्प तर्फ जाने कुरा छ ।’ बहराईनका राजकुमार सहितको टोली लुक्ला रहेको र त्यहाँबाट उत्तरी गोरखाको मनास्लु हिमाल आउने कार्यक्रम यस अघि नै तय भएपछि सहयोगीहरु त्यसतर्फ गएका हुन् ।


राजकुमार सहितको टोलीलाई मनास्लु हिमालको बेस क्याम्पमा गाईड गर्ने, खाना बनाउने सहित बन्दोबस्तीका सामग्री लिएर टोली त्यसतर्फ गएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का फिल्ड अधिकृत अजित तुम्बाहाम्फेले बताए । ‘टोलीमा सहभागी सबै जना पुरुष छन्’ उनले भने ‘सबै नेपाली नै हुनुहुन्छ ।’

चुमनुब्री गाउँपालिकाको स्वास्थ्य शाखाले मंगलवार गाउँपालिका प्रवेश गरेका सबैको पिसिआर रिर्पोट र थर्मल गनले तापक्रम नापेर ‘इन्ट्री’ गराएको जनाएको छ । राजकुमारको टोली लुक्लाबाट हेलिकप्टरमा सामागाउँ जाने कार्यक्रम छ । सामागाउँबाट उनीहरु चार घण्टा हिँडेर मनास्लुको बेस क्याम्प पुग्नेछन् । वर्षातका कारण मनास्लु पदमार्गको पैदल बाटो बिग्रिँदा राजकुमारका सहयोगीहरुलाई यात्रा गर्न सास्ती भएको छ ।
कोभिड १९ को संक्रमण फैलिएसँगै सुनसान रहेको सामागाउँको होटल राजकुमारको सहयोगी टोली पुगेपछि चलायमान देखिएका छन् ।


‘सबै जना सँग पिसिआर रिपोर्ट रहेछ’ वडा अध्यक्ष लामाले भने । ठुलो संख्यामा अन्यत्रबाट मानिस आउँदा कोभिड १९ को संक्रमणको त्रास हुन सक्ने भन्दै अहिलेका लागि मनास्लु भ्रमण रोकिदिन वडा अध्यक्ष मार्फत स्थानीयले प्रयास गरेका थिए । ‘स्थानीयको चिन्तापछि हामीले रोक्ने प्रयास धेरै गर्‍यौँ, तर मिलेन, अब सुरक्षित कसरी हुने भन्नेमा छौँ ।’ वडा अध्यक्ष लामाले भने ।
टोलीले मनास्लु आरोहणको अनुमती भने एक साता अघि नै लिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्