| शुक्रबार, बैशाख १४, २०८१

उपचारका लागि पनि हेलि चार्टर कहिलेसम्म ?

सुत्केरी व्यथाले तीन दिनसम्म करापेपछि चुमनुब्री गाउँपालिका २ ल्ही गाउँकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी प्रशुतीगृह पठाइएको छ । ३० बर्षकी हिसे लामा सुत्केरी हुन नसकेपछि राष्टूपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनलाई उद्धार गरी काठमाडौं लगिएको हो ।

चुमनुब्री गाउँपालिकामा यस्ता घटना भइरहन्छन् । नजिकै स्तरीय स्वास्थ्य संस्था नभएको र मोटरबाटोसम्म पुग्न चार, पाँचदिनसम्म पैदल हिड्नुपर्ने भएकाले स्वास्थ्यमा जटिल समस्या देखिने वित्तिकै हेलिकोप्टर चार्टर गर्नुपर्ने अबस्था छ ।
पर्याप्त पैसा हुनेले त हेलिकोप्टर चार्टर गर्छन्, तर विपन्न समुदायले अकालमा जीवन गुमाउनु पर्ने अबस्था छ । जीवन जोगाउनु पर्‍यो भने झिटीझाम्टो बेचेर डेढ, दुईलाख रुपैयाँ जुटाउनु पर्ने अबस्था छ ।
यसबारेमा समाचार लेखेको पनि धेरै भयो । यस बारेमा सम्बन्धित निकायलाई राम्रै जानकारी छ । तर थाहा पाउने, चुप लागेर बस्ने अबस्था छ ।
दुर्गमका बासिन्दाले यो नियति कहिलेसमम्म भोग्नु पर्ने हो ? यसको बिकल्प के हुनसक्छन् ? यस बारेमा सम्बन्धित निकायले सोच्नु पर्छ ।

सो क्षेत्रमा मोटरबाटो निर्माण गर्ने भनेर सेनाले धमाधम सडक निर्माण गरिरहेको छ, तर जगत लगायतका बिभिन्न ठाउँमा बाधा ब्यबधान उब्जिएका कारण काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । चुम उपत्यका जाने सडक त झन निर्माण नै भएको छैन । त्यताका लागि पनि सडक निर्माणको काम सुरु गर्नुपर्ने आवश्यकता छ ।

तल्लो भेगका सडकहरु जस्तै दुर्गमका ती सडक पनि बर्षौँसम्म कच्ची अबस्थामा रहन्छ । हिउँदमा गाडी चल्छ, बर्खामा छुनिन्छ । त्यसैले दुर्गम भेगमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरणसहितको स्तरीय स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्