| बिहिबार, मंसिर ११, २०७७

वडा अध्यक्षको पहलमा पुनर्जीवन पाएको स्कुललाई चौतर्फी सहयोग

कोही निजी विद्यालयमा त कोही गाउँभन्दा परको माध्यामिक विद्यालय पढ्न जान थालेपछि शहिदलखन गाउँपालिका ७ मकैपुर आधारभूत विद्यालय २०७५ सालमा बन्द भयो । विद्यालय बन्द हुनुको एउटै कारण थियो विद्यार्थी नहुनु । त्यस गाउँका स्थानीयले गाउँमै रहेको एउटा विद्यालय बन्द हुँदा नरमाईलो अनुभूति गरे । फेरि पनि बन्द विद्यालय खुल्ला र कोठाभरि विद्यार्थी होलान् भनेर कल्पना समेत स्थानीयले गरेका थिएनन् ।


तर सो विद्यालयले यो वर्षदेखि पुनर्जन्म पाएको छ । आधारभूत विद्यालयमा २७ जना विद्यार्थी छन् । वडा अध्यक्ष शरण श्रेष्ठले सहयोगीहरुबाट शैक्षिक सामग्रीदेखि विद्यालय ब्यवस्थापनमा सामग्री जुटाएका छन् । विद्यार्थीलाई चाहिने कापी, पेन्सिल, ब्याग, पोशाक पनि उनले जोहो गरिसके । ‘बालमैत्री कक्षाकोठाका लागि ब्यवस्थापन गर्ने योजनामा छु’ उनले भने ‘बन्द भएर पुन संचालन गरिएकाले अझै धेरै ब्यवस्थापन गर्न बाँकी छ ।’


शहिदलखन गाउँ कार्यपालिकाको बैठकले पनि विद्यालय संचालन गर्ने निणर्य गरेपछि थप सजिलो भएको वडा अध्यक्ष श्रेष्ठले बताए । एक जना शिक्षको दरबन्दी पनि छ ।


विद्यालय संचालनका लागि शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटका स्थानीय गन्जबहादुर गुरुङ र भिमबहादुर गुरुङको विषेश पहलमा फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, भिम गुरुङ, अनुप गुरुङ, काजी गुरुङ, अनिता गुरुङबाट रु २०/२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग गरेका छन ।


हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङ बाट १०/१० हजार रुपैयाँ, राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोशन श्रेष्ठबाट पाँच/पाँच हजार, जीतबहादुर गुरुङबाट ७ हजार र सबिता थापाबाट तीन हजार गरी ७५ हजार रुपैयाँ सहयोग जुटेको वडा अध्यक्ष श्रेष्ठले बताए ।


गोरखा जेजिस गोरखाका अध्यक्ष सुबास मल्लबाट रु २० हजार बरावरको पाँच थान राउण्ड टेवल, शहिदलखन गाउँपालिका ८ का वडा अध्यक्ष एवं रोटरी क्लव गोरखाका अध्यक्ष काशिनाथ अम्गाईको पहलमा बसन्तराज श्रेष्ठबाट २० थान र गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्केबाट १० थान प्लास्टिक कुर्सी उपलब्ध भएको विद्यालयले जनाएको छ ।


प्राप्त भएको समान र आर्थिक सहयोगबाट खरिद गरी बाल कक्षा ब्यवस्थापन, विद्यालयलाई चाहिने कम्प्यूटर, फोटोकपी, स्पिकर, फन्निचर, रङरोगन, कार्पेट राखिएको छ ।
विद्यालयमा प्राप्त सामग्री सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्