| बिहिबार, मंसिर ११, २०७७

लेकाली ठिटोपछि हो राजै पियारी बजारमा

धार्चे गाउँपालिकामा प्रचलित लोकगीत ‘हो राजै पियारी’ हालै बजारमा आएको छ । गाउँमा परापूर्व कालदेखि नै गाइने हो राजै पियारी गीतलाई सिङ्लाका धनबहादुर गुरुङ(धने)ले बजारमा ल्याएका हुन् ।


‘यो गीत विशेषगरी चण्डीपुर्नेमा गाउने गरिन्छ’, गुरुङले भने, ‘घाटु गीत भोलिपल्टका लागि स्थगित गरेर बुढापाकाहरु फर्किपछि ठिटाठिटीहरु मिलेर गाउने गीत हो । तर अहिले हराउँदै गएकाले त्यसको संरक्षण गर्नका लागि यो गीत रेकर्ड गरेको हो ।’ चर्चित हुनका लागि भन्दा पनि छोरानातिको पालामा समेत जीवित राख्नका लागि गीत रेकर्ड गरेको उनले बताए ।
सो गीतमा धनबहादुर गुरुङ र कलाकार वीलबल घलेको शव्द रहेको छ । त्यस्तै चर्चित गायिका शर्मिला गुरुङको मुख्य स्वर रहेको छ । उनीहरुलाई पृथ्वी गुरुङ, सितल गुरुङ, सुनिला गुरुङ, निता गुरुङको स्वर रहेको छ ।


यसअघि उनले ‘लेकाली ठिटो’ बोलको गीत पनि बजारमा ल्याएका थिए । सो गीत पनि धार्चे क्षेत्रमा प्रसिद्ध गीत हो ।


‘यो गीत हाम्रो क्षेत्रमा गाउने ठाडो भाखापछिको एक मात्र गीत हो’, गुरुङले भने, ‘मेलापात, मेलापर्व जहाँ पनि यही गीत मात्र गाउने चलन थियो । तर अहिले हराइसकेको छ । त्यसैले संरक्षणका लागि गीत रेकर्ड गरेको हुँ ।’ गाउँका प्रचीन गीत सुन्न पाउँदा गाउँले सबै खुशी भएको उनले बताए ।
लेकाली ठिटो गीतमा धने गुरुङ, आइतराम गुरुङ, सन्तबीर गुरुङ, सुनिला गुरुङ, बिमा गुरुङ लगायतले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्