| शनिबार, बैशाख ८, २०८१

खारेज भएको भूसंरक्षणको नयाँ भबन नौ महिनापछि प्रयोगमा

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङमा नौ महिना अघि निर्माण भएको सरकारी भबन अहिले प्रयोगमा आएको छ । तनहुँ स्थित जलाधार ब्यवस्थापन कार्यालयको गोरखा फिल्ड अफिसको रुपमा उक्त भबनले सेवा सुरु गरेको हो ।

तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भबनले निर्माण गरेको उक्त भबन भुसंरक्षण कार्यालय नै खारेज भएपछि कुन कार्यालय बस्ने भन्ने अन्यौल हुँदा प्रयोगमा आउन सकेको थिएन ।

कार्यालय प्रमुख बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत कृष्ण घिमिले भने ‘भुकम्पमा जमिन छियाछियाँ भएको जिल्ला भएकाले यहाँ ‘साईड अफिस’ संचालन गर्ने र नजिकबाट काम गर्ने योजना हो ।’ प्राविधिक सहित तीन जना कर्मचारी गोरखा स्थित कार्यालयमा रहनेछन् । ‘हरेक जिल्लामा भू संरक्षण कार्यालय रहने गरी ब्यवस्थापन गर्नुपर्ने सुझाब हामीले दिएका छौ’ डिभिजन प्रमुख घिमिरेले भने ।

‘भुसंरक्षण कार्यालयका लागि बनाएका थियौँ, भबन निर्माण पुरा नहुँदै उक्त कार्यालय खारेज भएपछि कुन कार्यालयलाई भबन हस्तान्तरण गर्ने भन्ने अन्यौल भएको थियो’ जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले भनिन् । अब उक्त भबन जलाधार ब्यवस्थापन कार्यालय तनहुँलाई हस्तान्तरण गरिनेछ । कोभिडको प्रभावका बिच अन्य सरकारी भबन हस्तान्तरण जस्तो औपचारीक कार्यक्रम भने भएको छैन ।

भु–संरक्षण कार्यालयको नाममा रहेको १० रोपनी जग्गामा तीन तले सुविधा सम्पन्न भुकम्प प्रतिरोधी भबन रबिना÷डाँफे÷ड्रयागन जेभीले निर्माण गरेको हो । उक्त भबन एउटा कार्यालयलाई पूर्ण सेवा प्रवाह गर्न मिल्ने खालको छ । खारेज कार्यालयको भबन बनेपछि जिल्लास्थित अन्य सरकारी कार्यालयले उक्त भबन प्रयोग गर्न सरकारी संयन्त्रबाट अनुमतीको लिने प्रयास गरेका थिए । खाली रहेको भबनमा कोभिड १९ बाट प्रभावित सुरक्षाकर्मी राख्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो ।

तनहुँ स्थित जलाधार ब्यवस्थापन कार्यालयले उक्त भबन सम्पर्क कार्यालयको रुपमा आफैँले प्रयोग गर्ने बताएपनि अन्यौलका बिच लामो समय कार्यालय संचालन गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्