| शनिबार, बैशाख ८, २०८१

चुम उपत्यकामा घोँडेजात्रा सुरु (फोटो फिचर)


अहिंसा क्षेत्र भनेर परिचित गोरखाको चुम उपत्यकामा घोडेजात्रा चलिरहेको छ ।

तिब्बती पात्रोअनुसार नवौँ महिनाको ८, १० र १५ गते र दसौँ महिनाको सोही गतेहरुमा चल्ने घोडेजात्रा अहिले धमाधम चलिरहेको हो ।


बिभिन्न दिनमा बिभिन्न टोलहरुको आलोपालो गरी घोडेजात्रा लागिरहेको वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए । ‘नवौँ महिना र दसौँ महिनाको ८, १० र १५ गते बिभिन्न टोलको घोडाजात्रा हुन्छ’, उनले भने, ‘नवौँ महिनाको सकिएको छ । अब दसौँ महिनाको आठ गते छेकम गाउँमा घोडेजात्रा हुदैछ ।’


ङाक्यू, लेरु, जोङ, लामागाउँ, लामागाउँ, बुर्जी, लार, फुर्पे, पाङदुनको घोडेजात्रा सम्पन्न भइसकेको छ । मुख्य लामाका आफन्तको देहावशान भएका कारण छुले र निलेको घोडेजात्रा नहुने उनले बताए ।


चुम उपत्यकामा सयौँ बर्षअघिदेखि घोडेजात्रा गर्ने गरिएको अर्का स्थानीय वाङचुक राप्तेन लामाले बताए । ‘प्रत्येक घरको कम्तिमा एकएक जना घोँडासहित उपस्थित हुन्छन् । प्रत्येक घरबाट अन्न संकलन पनि गरिन्छ । अनि स्थानीय पोशाक लगाएर घोँडा चढेर फुरेन फू(मेलारेप्पा गुफा)मा जाने, त्यहाँ एकसय आठ बत्ति बाल्ने, भजन गाउने गरिन्छ’, उनले भने, ‘त्यसपछि राजेन गुम्बामा जाने, त्यहाँका एकसय आठ बत्ती बाल्ने, आनीहरुलाई खानेकुरा, पैसा दिने गरिन्छ । अनि फर्कँदा टोलटोलबाट आएका मान्छेहरुल प्रसाद दिएपछि उनीहरुले खाता लगाएर स्वागत गर्छन् । त्यसपछि राती पूजा गर्ने, खानपिन गर्ने, नाचगान गर्ने चलन छ ।’

परापूर्व कालदेखि गर्दै आएको घोडेजात्रा नगरे ग्रहदशा लाग्छ भन्ने मान्यता रही आएको उनले बताए ।

तस्वीर सौजन्य : पासाङ फुञ्जो लामा र वाङचुक राप्तेन लामा,

प्रतिक्रिया दिनुहोस्