| बिहिबार, मंसिर ११, २०७७

व्रह्मचारिणीका पूर्व प्रअ र अध्यक्षद्वारा बाउन्स चेकको १० लाख मात्र भुक्तानी

व्रह्मचारिणी आधारभूत विद्यालयका तत्कालीन प्रअ धनबहादुर सुर्खेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर गुरुङले दिएका बाउन्स चेकको आधा रकम बुधबार भुक्तानी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको अन्तिम म्याद बुधबार सामान खरिद गरेको पसले र कामदारका नाइकेका लागि १० लाख रुपैयाँ ग्लोबल आइएमई वैँकको खातामा जम्मा गरेका हुन् । बाँकी करिब १३ लाख रुपैयाँ बिहिबार बिहान जम्मा गर्ने प्रतिवद्धता जनाएका वडाअध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङ र प्रअ सुर्खेतीले यसअघि दिएको बाउन्स चेक च्यातेर बुधबार नयाँ चेक दिएका छन् । ‘आइतमानलाई चौधलाख रुपैयाँको र कामदारका नाइके मोहन खत्रीलाई सातलाख ९५ हजारको नयाँ चेक दिएका छन्’, वडाअध्यक्ष गुरुङले भने, ‘खातामा रकम भने जम्मा १० लाख जम्मा गरेका छन् । बाँकी रकम भोलि जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।’

बाउन्स चेक दिएको बारे पिडितहरुले प्रहरीमा ठाडो उजुरी दिएपछि प्रहरीले छलफल गरी बुधबारसम्म रकम जम्मा गर्न चेतावनी दिएको थियो ।

अध्यक्ष गुरुङ र प्रअ सुर्खेतीले ७०, ७० लाख रुपैयाँका दुईवटा विद्यालय भवन र १५ लाख रुपैयाँको एउटा सौचालय भवन निर्माण गरेबापत प्राप्त रकम हिनामिना गरी ठेकेदार र निर्माण सामग्रीका सप्लायर्सलाई भुक्तानी नदिएको भन्दै दुवैजनालाई गाउँपालिकाले पदमुक्त गरेको थियो ।

भवन निर्माणको रकम हिनामिना गरेको, शिक्षक कर्मचारीलाई समयमा तलब नदिएको, दिए पनि पूरै नदिएको, संचयकोष र नागरिक लगानी कोष पनि जम्मा नगरेको लगायतका बिषयमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।

प्रतिक्रिया दिनुहोस्