| बिहिबार, माघ १५, २०७७

रुई गाउँ बारे अध्ययन गरेर सांसद अधिकारीको टोली फर्कियो


गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीको टोली गोरखा र तिब्बतको सीमामा रहेको रुई गाउँको बारेमा अध्ययन गरेर फर्किएको छ । स्थानीय जनप्रतिनिधि तथा राजनीतिकर्मीसहित सीमावर्ती गाउँ सामागाउँ र साम्दो पुगेर फर्किएको सांसद अधिकारीले जानकारी दिए ।


त्यहाँका जनप्रतिनिधि तथा ज्येष्ठ नागरिकहरुसँग छलफल र सोधपुछ गरेर फर्किएको सांसद अधिकारीले बताए । ‘हामी रुई गाउँ जान भनेर गएका थियौँ, तर त्यहाँ कोरोना महामारीका कारण नाका बन्द रहेछ । त्यसैले रुई गाउँसम्म पुग्न सकिएन’, उनले भने, ‘त्यसैले साम्दो र सामागाउँका स्थानीयबासी र चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेर फर्किएँ ।’

उत्तरी सीमाबारे कुनै विवाद नरहेको बारे आफू पहिल्यै जानकार रहेपनि सम्बन्धित ठाउँमा पुगेर छलफल गरेपछि थप आत्मविश्वास बढेको उनले बताए । ‘गोरखाको उत्तरी नाकामा विवाद रहेको बारे पत्रपत्रिकामा समाचार आएको, संसदमा पनि कुरा उठेको, केहीदिनअघि ‘रअ’ प्रमुख आउँदा पनि कुरा उठाएको हुँदा विस्तृतमा बुझ्न म त्यहाँ गएको थिएँ’, सांसद अधिकारीले भने, ‘सीमास्तम्भ गाढेदेखि उत्तरी गोरखामा सीमा विवाद छैन भन्ने त मलाई पहिल्यै लागेको थियो । तैपनि अझै थप जानकारी लिन गएको थिएँ । स्थानीयबासी र जनप्रतिनिधि सबैले सीमा विवाद नरहेको दाबी गर्नुभयो । यसले मलाई थप आत्मविश्वास बढेको छ ।’

कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद चुलिएका बेला उत्तरी गोरखाको सीमा विवादको बिषय ल्याएर प्रसंग तोडमोड गर्न खोजिएको हुनसक्ने उनले आरोप लगाए । ‘जतिबेला कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा विवाद चुलिएको थियो, त्यतिबेला रुई गाउँ नेपालको थियो भन्ने समाचार आयो । भलै पत्रकारले सफा नियतले समाचार लेखेको हुनसक्छ, सरिता गिरी लगायतका केही सांसदहरुले यो बिषयलाई उचाले’, उनले भने, ‘बेला त्यस्तो परेकाले कतै विषयान्तर गर्न खोजिएको हो कि भन्ने पनि तर्कहरु आए ।’

नाम्रुङदेखि माथिकाले कहिले तिब्बततिर कर तिर्ने गरेको, कहिले रुई र त्यो भन्दा पनि अझै उत्तर केरुङसम्मका बासिन्दाले नेपालतर्फ कर तिर्ने गरेको इतिहास रहेपनि सीमा स्तम्भ गाढेपछि यससम्बन्धी विवाद अन्त्य भएको बारे स्थानीयको भनाइ रहेको उनले बताए ।


हेलिकोप्टरबाट चुमनुब्री पुगेका उनको टोलीमा चुमनुब्री गाउँपालिकामा नेकपाबाट अध्यक्षको उम्मेद्बार बनेका लाक्पा डुण्डुप लामा, नेकपाका सल्लाहकार समितिका सदस्य निमा लामा थिए ।

टोलीले गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ, वडा नं. २ का अध्यक्ष पेम्बारेता लामा, वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामा, वडा नं. १ का अध्यक्ष वीरबहादुर लामा, सदस्य मिङमार लामालगायत जनप्रतिनिधि र स्थानीय ज्येष्ठ नागरिकसँग छलफल गरेका थिए ।

केही महिनाअघि हाल तिब्बततर्फ रहेको रुई गाउँ पहिले नेपालको थियो भन्ने बारे दरौंदी दैनिक पत्रिका र अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्