| बिहिबार, मंसिर ११, २०७७

सिरानचोक र गोरेटो गोरखाको साँझेदारीमा जिविकोपार्जन र पूर्वाधारका २२ परियोजना संचालन

गोरखाको सिरानचोक गाउँपालिका र युएनडिपी, गोरेटो गोरखाको साँझेदारीमा गाउँपालिका भित्रिका बिभिन्न वडामा २२ वटा परियोजना संचालित छ ।

सामुदायिक पूर्वाधार बिकास तथा जिविकोपार्जन परियोजना अन्र्तगत गाउँपालिका र संस्थाको ६०÷६० लाख गरी एक करोड २० लाख लगानीमा जिविकोपार्जन र पूर्वाधारका परियोजनाहरु संचालन भएको हो ।
‘डिसेम्बर सम्म सिध्याउने गरी परियोजनाको काम भईरहेको छ’ गोरेटो गोरखाका कार्यक्रम संयोजक बिनोद पाण्डेले भने ‘अहिले ५० प्रतिशत भन्दाबढि काम सकिसकेको छ ।’

जैवीक मल बनाउने, अलैँची खेती प्रर्वद्धनका लागि अलैँची सुकाउने प्रविधि, दुग्ध संकलन केन्द्र निर्माण, कुटानी पिसानी मिल राख्ने, दालमोठ बनाउने, क्रिस्टल सामग्री तयार लगायतका कार्यक्रम संचालन हुनेछन् । ‘पूर्वाधार तर्फ साना सिंचाई र गोरेटो बाटो निर्माणका कार्यक्रम सबैवडामा संचालन हुनेछ’ कार्यक्रम संयोजक पाण्डेले भने ‘यी सबै काम स्थानीय स्रोत साधनको उपयोग गर्ने र स्थानीयको जिविकोपार्जनमा मद्धत पुग्ने गरी संचालित छ ।’
गाउँपालिका र गोरेटो गोरखाको साँझेदारीमा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ मिल्ने खालका कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

कोरोनाबाट प्रभावितहरुलाई स्थानीय स्तरमै रोजगारी दिने उद्देश्यले सिपमुलक कार्यक्रम संचालन गरिएको गोरेटो गोरखाका कार्यकारी प्रमुख पबनरमण खनालले बताए । सोही कार्यक्रम अन्र्तगत वडा नम्बर ३ हर्मीका २० जना मुस्लिम महिलाहरुलाई क्रिस्टल ज्वेलरी बनाउने तालिम दिइएको थियो । तालिम लिएपछि स्थानीय बजारमै उत्पादन बिक्री गर्न सक्ने र महिलाहरु स्वरोजगार बन्ने अपेक्षा गाउँपालिकाको छ ।

वडा नम्बर १,३ र ७ मा कुटानी पिसानी मिल राखिनेछ । सिंचाई र गोरेटोबाटो हरेक वडामा निर्माण गर्ने गरी योजना तय गरिएको छ ।
यसरी बिभिन्न परियोजना संग साँझेदारी गरेर कार्यक्रम गर्दा पालिकाबासीले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले कार्यक्रमको योजना नै सोही अनुसार गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । युएनडिपी र गोरेटो गोरखा जस्तै अन्य बिकास साँझेदार संस्था सँग सहकार्य गरेर कार्यक्रम गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्