| बिहिबार, माघ १५, २०७७

काशिगाउँमा किवीखेती फस्टाउँदै

कोरोना रोकथामका लागि उपयुक्त मानिने किवी खेती गोरखाको काशिगाउँमा फस्टाएको छ । प्रसस्त भिटामिट सी पाइने किवी खेती धार्चे गाउँपालिका वडा नं. ७ काशिगाउँमा व्यवसायिक रुपमा सुरु गरिएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए ।


उनका अनुसार यसबर्ष काशिगाउँमा एक हजार किलोग्राम किवी उत्पादन भएको छ । ‘आइतबारदेखि धमाधम किवी टिप्न सुरु गरिएको छ’, उनले भने, ‘गतबर्ष १६० किलोग्राम उत्पादन भएको थियो । यो बर्ष करिब एकहजार किलो उत्पादन हुने अनुमान छ ।’ बजारमा प्रतिकिलोग्राम बाह्रसय रुपैयाँ तिर्नुपर्ने किवीलाई काशिगाउँमा प्रतिकेजी तीनसय रुपैयाँमा बिक्री गरिएको अध्यक्ष घलेले जानकारी दिए ।

यसबर्ष सुरुको चरणमा भएकाले प्रचार प्रसार भएको छैन । प्रचारप्रसारको अभावमा यसले बजार पाउन समस्या परेको अध्यक्ष घलेले बताए ।


गाउँपालिका कार्यालय र फेज नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा स्थानीय २५ जना भन्दा धेरै किसानले काशिगाउँमा किवी खेती गरेका छन् । एउटा कृषि समूहले पनि व्यवसायिक किवी खेती गरेको छ । ‘गतआर्थिक बर्ष किवी खेतीका लागि गाउँ कार्यपालिकाले दुईलाख रुपैयाँको कार्यक्रम सञ्चालन गरेको थियो । फेज नेपाल भन्ने संस्थाले पनि तालिम, प्रशिक्षण तथा अन्य प्राविधिक सहयोग गर्दैआएको छ’, घलेले भने, ‘गतबर्ष उत्पादित किवी फेज नेपालले ८० किलोग्राम किनिदियो । बाँकी किवी किसान आफैले विक्री वितरण गरे । यसबर्ष पनि गाउँपालिकाले किनेर माछाखोला बजारमा विक्री वितरणको वातावरण बनाउने बचन दिएको छ ।’


गाउँपालिकाले काशिगाउँलाई किवी खेती विशेष पकेट क्षेत्र बनाउन योजना बनाइरहेको पालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । ‘वडा नं. ६ लाई किवी पकेट क्षेत्र बनाउन हामीले योजना गरिरहेका छौं’, उनले भने, ‘यसबर्ष पनि उनीहरुले बिक्री गर्न सकेको जति गर्छन् । नसकेको जति हामी किनिदिन्छौं ।’ किवी खेतीका लागि काशिगाउँमा हावापानी सुहाउँदो रहेको उनले बताए ।

किवी खेती नेपालमा परीक्षणको रुपमा विकास गरिदैछ । टिपेर बफाएर राखेपछि कहिल्यै नबिग्रने भएकाले बिक्रीका लागि धेरै ठूलो चिन्ता नरहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्