| बिहिबार, बैशाख ६, २०८१

भीमसेन, आरुघाट, धार्चे र चुमनुब्रीका सबै विद्यार्थी र शिक्षकलाई मास्क र साबुन

एक सामाजिक संस्थाले आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका १८७०० जना विद्यार्थी तथा शिक्षकलाई मास्क र साबुन वितरण गरेको छ ।


सम्भव नेपाल नामक गैरसरकारी संस्थाले तीनवटा पालिकाका ८७ वटा विद्यालयका शिक्षक र विद्यार्थीलाई तीनवटाका दरले धुन मिल्ने खालको मास्क र हात धुने साबुन वितरण गरेको हो ।
आरुघाट गाउँपालिकाका ४१ वटा विद्यालय, धार्चे गाउँपालिकाका २६ वटा र चुमनुब्री गाउँपालिकाका २० वटा विद्यालयका विद्यार्थीलाई मास्क वितरण गरेको सम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले बताए ।
‘एकजनालाई तीनवटाका दरले ६० हजार थान वासएबल मास्क र छ महिनालाई पुग्ने गरी २२ हजार पाँचसय थान साबुन वितरण गरेँ’, खत्रीले भने, ‘आरुघाट गाउँपालिकाका चार वटा वडाका सबै विद्यालयमा आफै उपस्थित भएर वितरण गरेँ । बाँकीमा प्रतिनिधि साथीहरुको सहयोगबाट वितरण गरेँ ।’

धार्चे गाउँपालिकाका सबै विद्यालयलाई गाउँपालिकाको केन्द्र माछाखोलामा संयुक्त रुपमा हस्तान्तरण गरेको उनले बताए । त्यस्तै चुमनुब्री गाउँपालिकाका २० वटा विद्यालयलाई गाउँपालिकाको केन्द्र फिलिमस्थित वुद्ध माविमा एक कार्यक्रम गरी हस्तान्तरण गरेको उनले बताए ।

सबै विद्यालयका लागि १४० थान थर्मल गन पनि प्रदान गरेको उनले बताए ।


भीमसेन थापा गाउँपालिकाका ४५ वटा विद्यालयका लागि केहीदिनमा मास्क, साबुन तथा थर्मल गन हस्तान्तरण गर्ने उनले बताए ।


यसअघि सम्भव नेपालले गोरखाका सबै गाउँपालिका, नगरपालिका, प्रहरी, सेना, सशस्त्र प्रहरी तथा पत्रकार महासंघलाई पनि मास्क, सेनिटाइजर तथा थर्मल गन प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्