| बिहिबार, बैशाख ६, २०८१

निशुल्क बिरुवा बाँड्न वन डिभिजनको ‘हाइटेक’ नर्सरी

जिल्लाबासीलाई निशुल्क बिरुवा बितरण गर्न डिभिजन बन कार्यालय गोरखाले आफ्नै नर्सरी तयार गरेका छ । गोरखा नगरपालिका वडा नम्बर १३ को तीनकिलोमा नर्सरी निर्माण गरिएको सहायक बन अधिकृत होमबहादुर बल्छौँडीले बताए ।
वृक्षरोपणका लागि जिल्लाबाहिरबाट आयात गर्नु नपरोस् भन्ने उद्देश्यले आफ्नै नर्सरी तयार गरेकोउनले बताए ।


‘एक लाख ४० हजार बिरुवा उत्पादन गरेर सामुदायिक बन, किसान, संघ संस्थालाई बितरण गर्ने योजना छ’ उनले भने । अहिले नर्सरीमा धमाधम बिरुवा उत्पादन भइरहेको छ । तयार भएको बिरुवा जेठ/असारमा बितरण गर्ने योजना रहेको उनले बताए । बिरुवा उमार्न उच्च प्रविधिको ‘हाईटेक’ नर्सरी निर्माण गरिएको छ । बिउ रोप्ने तातो घर निर्माण गरिएको छ । बिउ उमार्न गर्मी ठाउँ चाहिने भएकाले तातो घर बनाइएको सहायक बन अधिकृत बल्छौँडीले बताए । ‘उम्रिएको बिरुवा राख्ने अर्को चिसो घर पनि छ’ उनले भने ‘उम्रिएपछि हुर्काउन चिसो नर्सरीमा लगिन्छ ।’
राजेदवी सामुदायिक बन उपभोक्ता समितिको जग्गामा डिभिजन बन कार्यालयले नर्सरी निर्माण गरेको हो । पहिलो पटक जिल्लाभित्रै हाइटेक नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट खरिद गरेर ल्याउनुपर्ने बाध्यता अब कम हुनेछ ।


नर्सरीमा अशोक, बडहर, धुपी, सिसौ लगायतका काठजन्य बिरुवा पनि त्यहाँ उत्पादन हुनेछ । ‘काठ जडिवुटी, फलफुल जन्य बिरुवा उमार्न प्राथमिकता दिएका छौँ’ सहायक बन अधिकृत एवं डिभिजनल बन कार्यालयका सुचना अधिकारी महेश पौडेलले भने । अहिले गोरखाका सामुदायिक वन, बिभिन्न संघ संस्था, ब्यक्तिले वृक्षरोपणका लागि बिरुवा अन्य जिल्लाका नर्सरीबाट खरिद गरेर ल्याउनु परेको छ । ‘वातावरण जोगाउन बन क्षेत्रको बिस्तार र बिकासका लागि नर्सरी अत्यावश्यक रहेकाले निर्माण गरिएको उनले बताए ।


नर्सरीमा तयार भएको बिरुवा लिन किसानले सामुदायिक वन वा ब्यक्तिले निवेदन दिनुपर्छ । संकलन भएको निवेदनबाट आवश्यकताका आधारमा कार्यालयले छनौट गरी बिरुवा बितरण गर्ने सहायक बन अधिकृत होमबहादुर बल्छौँडीले बताए । ‘खेर गएको जमिन हराभरा बनाउने, किसानलाई चाहिने डाले घाँसको आपूर्ती गर्ने, जडिवुटी खेती बिस्तारमा सघाउने मूख्य योजना हो’ उनले भने । पहिरो गएको ठाउँमा बिरुवा लगाउने, सडक किसारमा हरियाली बनाउने योजना अनुसार निशुल्क बिरुवा बितरण गर्न नर्सरी स्थापना गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्