| शनिबार, बैशाख ८, २०८१

इच्छाशक्ति भए विकास सम्भव

गोरखा भूकम्पका कारण आहत भएका पिडितहरुलाई सरकारले विकासको राहत दियो । विशेषगरी जाइकाले पिडितहरुलाई विभिन्न पाँचवटा मोटरेबल पुल उपाहार दियो । बीसौँ बर्षदेखि कच्ची सडकको सास्ती भोगिरहेका पिडितहरुलाई भूकम्पकै नाममा ५७ किलोमिटर पिचसडक पनि उपाहार दियो ।

गोरखा भूकम्पले जिल्लाका ६७ हजार ७८ घरधुरी पूर्ण रुपमा र पाँचहजार सातसय ४४ घर आंशिक रुपमा क्षति भए, पाँचसय ३२ घरधुरीका बासिन्दा विस्थापित भए ।
भूकम्पकै कारण गोरखाका तीनहजार ६२ कक्षाकोठा, ७७ वटा स्वास्थ्य चौकी, नौवटा सरकारी भवन पूर्ण रुपमा नष्ट भए । कैयौँ नहर कुलो, कैयौँ खानेपानी योजना, सडकहरु क्षतिग्रस्त भए ।
भूकम्पपछि जिल्लामा काम गर्न आएको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले गोरखा बारपाक सडकको पाँच ठाउँमा पक्की पुल निर्माण गरेको छ । करिब ४० करोड रुपैयाँको लागतमा सो सडकको खहरे खोलामा, झ्याल्ला खोलामा, बालुवाखोलामा, राङ्रुङखोलामा र दरौंदी खोलामा पक्की पुल निर्माण भएको हो ।

बीसौँ, तीसौं बर्षअघि निर्माण भएर जोखिम अबस्थामा रहेका सडकहरु ढिलो, चाँडो कालोपत्रे हुन्थे, पक्की पुल पनि निर्माण हुन्थे, तर भूकम्पको दुखाइ बिर्साउन सरकारले एक अर्ब ५६ करोडको लागतमा यी सडक कालोपत्रे र पक्की पुल निर्माण गरेको हो ।
गोरखाका कैयौँ सडक स्तरोन्नति गर्ने काम बर्षौँदेखि अलपत्र छ । कैयौँ मोटरेबल पुल बर्षौँदेखि अलपत्र भएको बारे समाचार प्रकाशन, प्रशारण भइरहेका छन् । तर भूकम्प पीडितको नाममा आएको कार्यक्रम भने निर्धारित समयभित्रै सम्पन्न भयो । सरकारले गर्न चाह्यो भने कुनै पनि हत्कण्डा अपनाएर निर्धारित काम निर्धारित समयभित्रै सम्पन्न गर्न सक्ने रहेछ भन्ने सन्देश प्रबाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्