| शुक्रबार, बैशाख ३, २०७८

धार्चेको केन्द्र माछिखोलामा स्वास्थ्य परीक्षण प्रयोगशाला सेवा सुरु

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछिखोलामा बुधवारदेखि स्वास्थ्य परीक्षण प्रयोगशाला सेवा सुरु भएको छ । रगत, पिसाब, खकार जाँच गर्नका लागि अब माछिखोला आसपासका स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

‘यसअघि रगत, पिसाब जाँच गर्न पनि आरुघाट जानुपथ्र्यो’, उनले भने, ‘हामीले गाउँपालिकाको सहयोगमा यहाँ नै सेवा सुरु गरेपछि जनताले राहत महशुस गर्नेछन् ।’ बुधवार उद्घाटन भएको ल्याब सेवामा रगत, पिसाब, दिसा, खकार जाँच हुनेछ । सर्वसाधारणलाई न्यूनतम शुल्क लिएर ल्याब सेवा प्रवाह गरिने ल्याब असिस्टेन्ट तेजबहादुर घलेले बताए । माछिखोला स्वास्थ्य चौकीमा ठाउँ अभाव भएकाले गाउँपालिका नजिकै कोठा भाडामा लिएर ल्याब सुरु गरिएको छ ।
गाउँपालिकाले भिडियो एक्सरे मेसिन पनि खरिद गर्ने प्रक्रियामा रहेकाले एक्सरे सेवा पनि संचालन गरिने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्