| शुक्रबार, बैशाख ३, २०७८

द्रुतगतिको इन्टरनेटका लागि गोरखामा टेलिकमद्धारा फाईवर बिछ्याउन सुरु

नेपाल टेलिकमले द्रुतगतिको इन्टरनेट सेवाका लागि गोरखा बजार क्षेत्रमा फाईवर बिछ्याउने प्रक्रिया सुरु गरेको छ ।
पहिलो चरणमा गोरखा नगरपालिका ६ ढाँडगाउँमा रहेको टेलिकम कार्यालयदेखि हस्पिटलचोक हुँदै हरमटारी चोकसम्म फाईवर गाड्न खाडल खनिसकिएको टेलिकमका प्राविधिक सन्दिप ढकालले बताए ।
‘यसअघि पोल मार्फत लगिएको लोड केबलहरु अब जमिनमुनि गाडेर लैजाने हो’ उनले भने । टेलिफोन प्रयोग गर्दै आएका गोरखाका करिब एक हजार तीन सय जना ग्राहकले सहज सेवा पाउने भएका छन् । उनीहरुले एउटै डिभाईसबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन पनि हेर्न पाउँछन् । ल्याण्डलाइन फोन आवश्यक नभएकाहरुले इन्टरनेट र टेलिभिजन मात्र चलाउन पनि सक्ने प्राविधिक ढकालले बताए । तर त्यसका लागि नजिकका ग्राहकले सेवा लिइराखेको वा यस अघि सेवा बिस्तार भएको क्षेत्र हुनुपर्ने टेलिकमले जनाएको छ ।
एउटा डिभाईसबाट दुईवटासम्म टेलिफोन संचालन गर्न सकिनेछ । यसअघि टेलिकमको इन्टरनेट, फोन सेवा लिँदै आएकालाई टेलिभिजन सेवा लिन सजिलो रहेको कार्यालयले जनाएको छ ।
टेलिकमले यो सेवा सदरमुकामको खोलखोले, गोरखा क्याम्पस, गैरीकुवा, आहाले, गोरखा दरबार क्षेत्रसम्म बिस्तार गर्नेछ । यसका लागि भने केही समय लाग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्