| शनिबार, बैशाख ८, २०८१

गुप्सीबस्ती हेर्न हेलिकोप्टरमा एनआरएनको लावालस्कर

गोरखाको लाप्राकको एनआरएन भिलेजमा बिहिबार चार वटा हेलिकोप्टर ल्याण्ड ग¥यो ।
बिहान १० बजेदेखि १०, १० मिनेटको फरकमा चार वटा हेलिकोप्टर गाउँमा बसेपछि यति धेरै हेलिकोप्टर एकैचोटि आएको भन्दै गाउँलेहरु आश्चर्य चकित भए ।


गाउँमा अल्टिच्यूड एयरको दुईवटा, मनाङ एयरको एउटा र एउटा हेली एभरेष्टका हेलिकोप्टरहरु आएका थिए । ‘हाम्रो गाउँमा मात्रै होइन, उत्तरी गोरखामा नै सायद गोरखामा नै चार वटा हेलिकोप्टर एकैपटक एकै ठाउँमा ल्याण्ड गरेको शायद पहिलो पल्ट नै होला’, धार्चे गाउँपालिका ४ का वडाअध्यक्ष राज गुरुङले भने, ‘फुत्त, फुत्त हेलिकोप्टर आइरहँदा गाउँलेहरु आश्चर्य चकित भए ।’


हेलिकोप्टरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष बद्री केसी, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिना, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोरखाली, मध्यपूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, स्पेनबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य चिन्तामणि सापकोटा, एनसिसिका युएसका निवर्तमान अध्यक्ष केशव पौडेल, एनसिसी युएसएका उपाध्यक्ष बुद्धिसागर सुवेदी, परियोजनाका सहसंयोजक श्याम तामांग गरी २० जना सवार थिए ।
एनआरएनएले निर्माण गरेको एकीकृत नमूना बस्तीमा उनीहरुले करिब तीन घण्टा बिताए । एनआरएनएले निर्माण गरेको एकीकृत बस्तीमा पहिलो पटक हालसालै सञ्चालन गरिएको चाइनिज कान्छी होटलमा उनीहरुले खाना खाएका थिए ।
एनआरएनएले लाप्राकका भूकम्प पीडितका लागि ५७३ घर निर्माण गरिरहेको छ । चारबर्षअघिदेखि निर्माण आरम्भ भएको गुप्सी बस्तीको निरीक्षण गर्न उनीहरु आएका धार्चे गाउँपालिका ४ का वडाअध्यक्ष राज गुरुङले जानकारी दिए । ‘वैशाख १२ गते बस्ती हस्तान्तरण गर्ने एनआरएनएको तयारी छ ।

त्यसैको निरीक्षण गर्न आएका रहेछन्’, वडाअध्यक्ष गुरुङले भने, ‘एनआरएका सचिव गेलाल, एनआरएनएका अध्यक्ष पन्त, पूर्व उपाध्यक्षहरु महतो र लामिछानेले कार्यक्रममा बोल्नु भएको थियो ।’
निरीक्षणका क्रममा प्राधिकरणका सचिव गेलालले विभिन्न कठिनाइका बाबजुद सुन्दर बस्ती निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धन्यवाद व्यक्त गरेका थिए । साथै एकीकृत बस्तीका लागि अन्य पूर्वाधार निर्माणको काम पनि तत्काल सुरु हुने बताएका थिए ।
सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण सम्भव भएको बताए । उनले आउँदो वैशाको पहिलो हप्ताभित्र बस्ती निर्माण भइसक्ने र १२ गते ठूलै कार्यक्रम गरी हस्तान्तरण गर्ने बताएका थिए । सो अवसरमा लाभग्राहीलाई लालपुर्जा उपलब्ध गराउने जानकारी दिए ।
लाभग्राहीहरुका तर्फबाट बोल्दै वडा अध्यक्ष गुरुङले बस्ती अब छिटो सम्पन्न हुने विश्वास व्यक्त गरे ।
एनआरएबस्तीका घरमा निर्माण भएको झ्यालढोका गुणस्तरीयन भएको गाउँलेको गुनासो छ । साथै वडाअध्यक्ष गुरुङले एनआरएनए आइसिसीको बैठक गुप्सीमा आयोजना गर्न आग्रह गरेका थिए । बैठकले विश्वभर रहेका नेपालीको ध्यान केन्द्रित हुने र पर्यटन विकास हुने विश्वास उनले व्यक्त गरेका थिए । साथै एनआरएनए गाउँलाई उद्यमि गाउँ बनाउन सहयोगको अपेक्षा गरेका थिए । \

जीविकोपार्जनका लागि राडीपाखी, डोको, नाम्लो, ओम मानेपामे लेख्ने, भेँडागोठको प्रदर्शनी, तान बुन्ने आदि कार्यक्रमका लागि सहयोग गर्न उनले आग्रह गरेका थिए । त्यस्तै एनआरएन भिजेलमा दुईहजार जना अट्ने सेमिनार हल बनाइदिन पनि माग गरेका थिए ।
एनआरएनएले गुप्सीपाखामा भूकम्प पिडितका लागि पाँचसय ७६ वटा घर बनाएका छन् । लाभग्राहीको नाम छुटेका ३१ जनाले पनि घर निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्