| शुक्रबार, बैशाख ७, २०८१

गोरखा आएका नयाँ प्रजिअ भेटघाटमा ब्यस्त

गोरखामा केही दिनअघि आएका नयाँ प्रमुख जिल्ला अधिकारीले बिभिन्न पक्षका ब्यक्तिहरुसँग भेटघाटलाई तिब्रता दिएका छन् ।

गत बिहिबार पद बहाली गरेका प्रजिअ शालिग्राम शर्मा पौडेलले शुक्रवार राजनीतिक दल, ब्यापारिक, ब्यवशायिक तथा सामाजिक संघ संस्था र संचारकर्मीसँग भेटघाट गरेका हुन् ।
‘जनताले दुःख पाउने अवस्था र अनियमितता हुनु हुँदैन’ पत्रकारहरु सँगको भेटघाटमा उनले भने ‘तपाईहरुले यस्ता विषयमा सुधार गर्ने मौका समाचारबाट र जानकारी दिएर पनि गर्न सक्नुहुन्छ ।’ बिकास निर्माण, शान्ति सुरक्षा, नियमित कार्यालयको कामलाई प्राथमिकता दिएर काम गर्ने उनले बताए ।
बिकास निर्माणका काम गर्ने कार्यालयसँग समस्या सोधेर पहिचान गरी काम अघि बढाउन सहयोग गर्ने उनले बताए । प्रजातन्त्रको सवलिकरणका लागि मिडिया आवश्यक रहेको बताउँदै उनले आग्रह पूर्वाग्रह बिना समाचार लेख्न अनुरोध गरे ।
नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि जिल्लामा सर्वपक्षीय भेटघाट गर्ने परम्परा छ । अहिलेका प्रजिअ पौडेलले पनि आलोपालो गरी भेटघाट गरिरहेका छन् । यस अघि प्रजिअ रहेका तिर्थराज भट्टराईको सरुवा भएपछि पौडेल गृहमन्त्रालयबाट गोरखा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्