| मङ्लबार, असार १, २०७८

कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार हुन माओवादी केन्द्रको आग्रह

नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्र कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै जनताको स्वास्थ्य सुरक्षामा जिम्मेवार बन्न सवै तहका सरकारलाई आग्रह गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको भीमसेन थापा, सिरानचोक, आरुघाट गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका क्षेत्रमा संक्रमण तिव्र बन्दै गएकोतर्फ गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।
नागरिकको स्वास्थ्य सुरक्षाका लागि सिमा नाकामा चेक जाँच सुरु गर्न, आमनागरिकलाई सुरक्षा मापदण्डको पालना गर्न गराउन, बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टिन व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङ, पिसिआर परीक्षणको काम दु्रत गतिमा अघि बढाउन तथा कोरोना बिरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउन पनि पार्टीले विज्ञप्ति मार्फत माग गरेको छ ।

त्यस्तै कोरोना रोकथाम र नियन्त्रण खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकको सुरक्षाकर्मीहरुको सुरक्षा सेवा सुबिधा र स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिन पनि पार्टीले विज्ञप्ति मार्फत माग गरेको छ । त्यस्तै नागरिकहरुलाई परेको समस्या समाधानका लागि क्वारेन्टिन, आइसोलेसन निर्माण तथा आवश्यक सवैखालका सहयोगमा जुट्न पार्टीले जिल्ला नगर, गाउँपार्टी, वडापार्टी तथा जनवर्गिय संगठनहरुलई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्