| शनिबार, बैशाख ८, २०८१

दूधपोखरी र नारदपोखरी जानका लागि सुविधायुक्त पदमार्ग निर्माण


धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध दूधपोखरी र नारदपोखरीसम्म पुग्ने पदमार्ग धमाधम निर्माण भएको छ । लम्जुङ र गोरखाको सीमानाको रुपमा रहेको चेपेको शीर दूधपोखरी र गोरखाको मध्यभाग भएर बग्ने दरौँदी नदीको मुहान नारदपोखरीसम्म पुग्नका लागि अजीरकोट गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो ।


पालिकाको पर्यटन शीर्षकको बजेट र प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट प्रयोग गरी दुवै पोखरी जाने बाटो निर्माण गरिएको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए । गत आर्थिक बर्ष निम्चेपोखरी पदमार्गलाई १३ र नारदपोखरीतर्फ जाने पदमार्गलाई १५ लाख रुपैयाँ खर्च गरिएको उनले बताए ।


सो बजेटबाट निम्चेपोखरीबाट नागेपोखरी निस्कने खण्डको करिब ५० प्रतिशत ढुंगा बिछ्याएको सिँडीबाटो बनाइएको छ भने बाँकी खण्डमा टूयाक मात्र खोलिएको छ । त्यहाँबाट नारदपोखरीसम्म पुग्ने बाँकी काम आउँदो भदौ, असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य पालिकाले तय गरेको छ ।
धनपतेसम्मको पदमार्ग गतबर्ष निर्माण भइसकेको छ । अहिले धनपतेबाट निम्चेपोखरी हुँदै नागेपोखरीसम्मको आधाजसो(ठूलो मितुसम्म) पदमार्गमा ढुंगा बिछ्याएर सिँडी लगाइएको छ । आधाजसो टूयाक मात्र खोल्ने काम सम्पन्न भएको धितालले जानकारी दिए ।


सिरानडाँडाबाट नारदपोखरी जोड्ने, सिरानडाँडादेखि दूधपोखरी जोड्ने, नारदपोखरीबाट रुपिनाला हुदै मनास्लु क्षेत्र प्रवेश गर्ने तथा दूधपोखरबिाट लम्जुङको लिपे जोड्ने पदमार्ग निर्माण गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ । चालु आर्थिक बर्ष सो पदमार्गका लागि पालिकाले ३५ लाख बिनियोजन गरेको अध्यक्ष धितालले जानकारी दिए ।


यस पदमार्गलाई तवी माडीबाट बायाँतर्फ अर्थात दूधपोखरी हुदै अन्नपूर्ण पदमार्ग सँग जोड्न सकिन्छ भने दायाँतर्फ नारद पोखरी हुँदै, रूपीनाला भन्ज्याङ पास गरी मनासलु पदमार्गसंग जोड्न सकिने पर्यटन व्यवसायी धनबहादुर गुरुङ बताउँछन् ।


सो रूटबाट नारद पोखरी हुदै जिल्लाकै पहिलो सगरमाथा आरोहण गर्नैहरूको सुन्दर गाउँ अन्तर्राष्टिूय माउन्टेन गाइडहरू जन्मेको लाप्राक गाउँ, त्यस्तै दोस्रो बिश्व युद्धमा भिक्टोरिया क्रस प्राप्त गर्न सफल गजे घले जन्मेको बारपाक पनि यो पदमार्ग हुदै जाना सकिन्छ ।

सो पदमार्गमा अमूल्य जडिबुटीको खानी, जैविक बिविधाले भरिपूर्ण, राष्टिूय पन्छी डाँफे र मुनाल लगायत बिभिन्न किसिमका चराचुरुङ्गी, कस्तूरी मृग, घोरल, हिउँचितुवा आदि जङ्गली जनावरहरू भएको, झर्ना, खोला, सिमसार, चरिचरन, माडीहरू, हिमालहरू लगायत प्राकृतिक रूपले अति सुन्दर यो ठाउँ पर्टकीय हिसाबले अति सम्भावना बोकेको ठाउँ रहेको गुरुङले जानकारी दिए । यस क्षेत्रमा पर्यटन बिकास गर्न सकेमा अजिरकोट गाउँपालिका आर्थिक रूपमा समृद्ध बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्